चार मुक्तक
- शिव सस्मित
मुक्तक-१

खोजेर पाइँदैन चेतना, जडहरूको
अस्तित्व नभेटिएझैँ पतझडहरूको
के हुन्छन् र खै अरु सुधार्ने चिजहरू,
ओखती त हुन्न भन्छन् घामडहरूको ।
मुक्तक -२
शान्त हुनुपर्छ स्थिर रहनुपर्छ देख्न पाइन्छ
नबनी हुरी एकनास बहनुपर्छ देख्न पाइन्छ
सकिन्छन् आफै,अरुको कुभलो सोच्नेहरू,
आखिर केही समय सहनुपर्छ देख्न पाइन्छ ।
मुक्तक- ३
कुरै नबुझी गर्नु यताउतिको अर्थ देखिन्न
जानू छ काशी, बाटो कुतीको अर्थ देखिन्न
परेको बेला समूहमा केही बोल्न सकिन्न भने,
एकान्तमा राखिने सहानुभूतिको अर्थ देखिन्न ।
मुक्तक- ४
स्वार्थका साँप बनी अप्ठ्यारामा डस्छन् कोही
घोच्ने तिखा वचनका छुरा बनी धस्छन् कोही
पस्छन् कोही मुसो बनी कुटुकुटु काट्छन् मुटु,
प्यारा बनी मनमुटुमा घरै बनाई बस्छन् कोही ।
– म्याग्दी

