उषा बस्ताकोटी खनालका चार मुक्तक

मुक्तक-१

केही बोलीमा सद्भाव त केही बोलीमा रीस
केही बोलीमा अमृत त केहीमा भने विष
बोलीले नै चुलिए कोही धुलिए कोही भने
आफ्नै बोली बन्दोरहेछ कुशल न्यायाधीश ।
मुक्तक-२
स्वदेशमै श्रम गरे बाँच्नलाई दुःख छ र
स्वर्गतुल्य यो भूमिमा भन्दा त्यहाँ सुख छ र
आफ्नो भूमि बँझ्याएर विदेशिन्छौ युवा किन ?
के छ त्यस्तो विदेशमा पैसै फल्ने रुख छ र ।
मुक्तक-३
कडा चोट दिइरहे पत्थर पनि बल्छ हजुर
कुटिरहे धेरैचोटि फलाम पनि गल्छ हजुर
शालीन यो स्वभावलाई कमजोरीपन नठान्नु
धेरै घोटे त शीतल चन्दन पनि जल्छ हजुर ।
मुक्तक-४
अस्ति मैले सेवा गर्दा पाएँ माया केही क्षण
हिजाे गर्न नसक्दा भत्के सँगै जिउने प्रण
दिए मात्र पाइने र पाए मात्र दिइने रे
मायामा नि ऐँचाे पैँचाे ! खै त त्याग समर्पण ?
रामपुर नपा-३, पाल्पा

