फेरि सक्रिय भए बामदेव, कम्युनिस्ट पार्टीबीच एकताका लागि दबाब मुलक अभियान सुरु गर्ने
काठमाडौं । नेपालका कम्युनिस्ट पार्टीबीच एकताका लागि दबाब अभियान सुरु भएको छ । ‘राष्ट्रिय एकता अभियान घोषणा’ गरेका पूर्व उपप्रधानमन्त्री वामदेव गौतमले कम्युनिस्ट पार्टीबीच एकताका लागि दबाब मुलक अभियान सुरु गरेका छन् ।

राष्ट्रियसभाका सदस्य समेत रहेका गौतमले विभाजित कम्युनिस्ट पार्टीबीच एकताका लागि राष्ट्रिय भेलाको आयोजना गर्दै छन् । गौतमका स्वकीय सचिव दीपक टमाटाका अनुसार राष्ट्रिय भेला शनिबार ललितपुरको धोवीघाटस्थित सिद्धार्थ कटेजमा हुँदै छ । पार्टी एकता अभियानमा लागेका नेता सो भेलामा देशैभरिबाट सहभागी हुने र एकता प्रस्तावमा छलफल हुने टमाटाले बताए ।
गौतमका स्वकीय सचिव टमाटाका अनुसार पार्टी एकता राष्ट्रिय भेलामा सबै जिल्लाबाट प्रतिनिधि आउने बताउँदै भने, ‘विभिन्न समूहमा विभाजित कम्युनिस्ट पार्टीबीच एकता गर्न दबाब दिने उद्देश्यले भेलाको आयोजना गर्न लागिएको हो । देशैभरिबाट सहभागी प्रतिनिधिबीचा पार्टी एकताको विषयमा छलफल हुने र आउने निष्कर्षअनुसार अगाडि बढने हो ।’
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएर विभिन्न समूहमा विभाजित भएकाले ती कम्युनिस्ट पार्टीका साथै अन्य साना कम्युनिस्ट पार्टीबीच पुनः एकता गरेर नेपालमा कम्युनिस्टको बलियो पार्टी बनाउनुपर्ने उद्देश्य गौतमको रहेको छ ।
सोहीअनुसार दबाब सिर्जना गर्ने उद्देश्यले भेलाको आयोजना गर्न लागिएको हो । नेपालका कम्युनिस्ट पार्टी विभाजित हुँदा गैरकम्युनिस्ट हाबी भएकाले कम्युनिस्ट पार्टी एक हुनुको विकल्पन नभएको निष्कर्ष गौतमको छ ।
नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच पार्टी एकीकरण भएर नेकपा गठन भएको थियो । तर, नेकपा विघटन भई एमाले र माओवादी केन्द्र पुर्नस्थापित भयो । एमाले विभाजन भएर नेकपा (एकीकृत समाजवादी) गठन भएको छ ।
तत्कालीन नेकपाभित्र विवाद उत्कर्षमा पुगेका बेला १४ माघ २०७७ सालमा गौतमले एकताका लागि ‘राष्ट्रिय एकता अभियान घोषणा’ गरेका थिए । त्यस समयमा अध्यक्ष केपी शर्मा ओली समूह र पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल दुई समूहले आधिकारिक नेकपा आफू भएको दाबी गर्दै आएका थिए ।
सोही समयमा २३ फागुन २०७७ मा सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र पुर्नस्थापित भएको थियो । एमालेभित्र विवाद बढ्दै गएपछि माधव नेपाल र झलनाथ खनालले एकीकृत समाजवादी गठन गरेका थिए ।
हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा कम्युनिस्ट पार्टी विभाजनकै कारण कमजोर देखिएकाले विभिन्न कोणबाट एकताका लागि बहस सुरु भएको छ । एमालेमा रहेका स्थायी कमिटीका सदस्य घनश्याम भुसालले समेत बामगठबन्धन गर्नुपर्ने पक्षमा उभिँदै आएका छन् ।
एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच बामगठनबन्धन वा पार्टी एकीकरण गर्ने विषयमा तीनै पार्टीका शीर्ष नेताबीच भित्रभित्रै छलफल दुई साताअघि भएको थियो । तर, सो भेटघाट एवं छलफलले सफलता पाउन नसकेको समाचार आजको राजधानी दैनिकले लेखेको छ।

