‘रीड नेपाल’ले ल्यायो स्थानीय स्रोत शिक्षकको अवधारणा



खगिन्द्र राज बास्तोला,सोलुखुम्बु।रीड नेपालको आयोजना तथा नगर तथा गाउँपालिकाको समन्वयमा स्थानीय स्रोत शिक्षकको क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ।

तालिममा सोलु दुधकुण्ड नगरपालिकाबाट चार जना,थुलुङ दुधकोशी गाउँपालिकाबाट तीन जना, नेचा सल्यान गाउँपालिकाबाट चार जना, सोताङ गाउँपालिकाबाट दुई जना, महाकुलुङ गाउँपालिकाबाट दुई जना, माप्य दुधकोशी गाउँपालिकाबाट चार जना र लिखुपिके गाउँपालिकाबाट दुई जना गरी २१ जना स्थानीय स्रोत शिक्षकहरुको सहभागिता रहेको थियो I

स्थानीय तह शिक्षा शाखाको सिफारिसमा उक्त शिक्षकहरुलाई तालिम प्रदान गरिएको हो, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नको लागि स्थानीय स्रोत शिक्षकको अवधारणा अघि सारेको रीड नेपालका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर बोगटीले जानकारी दिनु भयो।

स्थानीय स्रोत शिक्षकहरुले आफ्नो विद्यालय लगाएत आफ्नो छिमेकी ४ देखि ७ ओटा विद्यालयमा गएर ,नमूना कक्षा प्रदर्शन, शिक्षकको कक्षा अवलोकन तथा पृष्ठपोषण, सामग्री निर्माण, सामग्री वितरण , कक्षाकोठा व्यवस्थापनमा , तथ्यांक संकलन गर्ने , बैठक तथा सल्लाह सुझाव आदानप्रदान गर्ने, विद्यार्थी सिकाइ मूल्यांकन अभिलेख फारम प्रयोगमा सहयोग गर्ने लगाएतका कुराहरु समेटेर अर्धवार्षिक योजना समेत निर्माण गरिएको छ ।

तालिममा सहभागी शिक्षक रोलकुमार बस्नेतले तालिममा नयाँ नयाँ विषयवस्तु सिकेकोले तालिम प्रभावकारी भएको बताउदै यो कार्यक्रम संचालनको अवधारणा ल्याएकोमा रीड नेपाललाई धन्यवाद दिदै सिकेका सिप विद्यालयमा लागु गर्ने बताउनुभयो । शिक्षक धनरुपा राईले चुनौतीसंगै अवसर प्राप्त भएको भन्दै सिकेको कुरा आफ्नो विद्यालयमा र आफ्नो जिम्मेवारी तोकिएको विद्यालयमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो साथै पालिकाले विश्वास लिएर आफुहरुलाई छनोट गरी यो अवसर प्रदान गरेकोले त्यो विश्वास गुम्न दिन नहुने बताउनु भयो।

कार्यक्रममा रीड नेपालका गतिविधि ,स्थानीय स्रोत शिक्षकको भूमिका ,संचार सिप ,एकीकृत पाठ्यक्रम विद्यार्थी सिकाइ मूल्यांकन अभिलेख फारमको अभ्यास कार्ययोजना निर्माण, लैंगिक समानता तथा सामाजिक समावेशीकरण लगाएतका विषयमा प्रशिक्षण दिएको थियो ।

कार्यक्रमको सहजीकरण रीड नेपालका प्रमुख कार्यकारी अधिकृत भिम बहादुर बोगटी, शिक्षा कार्यक्रम प्रबन्धक मुक्ति घिमेरे , शिक्षा विकास संयोजक केशव देव गिरी लगायतले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्