शिक्षाको क्षेत्रमा काम गर्दै रीड नेपाल सम्मानित



खगिन्द्र राज बास्तोला,सोलुखुम्बु। दिगो विकासको चौथो लक्ष्य अन्तर्गत गुणस्तरीय शिक्षा (Quality Education) को उद्देश्य पुरा गर्ने कार्यमा अतुलनीय योगदान पुर्‍याए वापत ग्रामिण शिक्षा तथा वातावरण विकास केन्द्र (रीड नेपाल ) ले नेपाल भरिका गैर सरकारी संस्थामा उत्कृष्ट छनोट हुँदै पाँच लाख नगद सहित सम्मान पत्र प्राप्त गरेको छ।

राष्ट्रपति कार्यालयमा हालै आयोजित कार्यक्रममा राष्ट्रपति विद्या देवी भण्डारीको हातबाट संस्थाका अध्यक्ष नीरा शाक्य र प्रमुख कार्यकारी अधिकृत भिमबहादुर बोगटीले सो सम्मान ग्रहण गरेको रीड नेपालका शिक्षा विकास संयोजक केशव गिरीले जानकारी दिनुभयो ।

रीड नेपाल दुई दशकदेखि गुणस्तरीय शिक्षाको क्षेत्रमा योगदान पुर्‍याउँदै आएको छ।विशेष गरी नेपालका हिमाली तथा दुर्गम जिल्लाहरुका ग्रामीण भेगका सामुदायिक विद्यालयको विकासका लागि काम गर्दै आइरहेको छ।२०७७ सालमा जीवन विकास समाजले दिगो विकासका क्षेत्रमा नेपाल सरकारले लिएको लक्ष्य हासिल गर्न टेवा पुर्‍याउने उद्देश्यले सो क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याउने गैर सरकारी संघ संस्था, सामुदायिक शैक्षिक संस्था तथा पत्रकारलाई प्रतिस्पर्धामा भाग लिन आवेदन माग गरेको थियो ।

जस अन्तर्गत पहिलो विधा अन्तर्गतको पुरस्कार रु ५ लाख रीड नेपालले प्राप्त गरेको हो ।

प्रतिक्रिया दिनुहोस्