सोलुदुधकुण्डमा जनताको दु:खसुखको सारथी बनेर काम गर्ने नगरप्रमुख शेर्पाको प्रतिबद्धता
सोलुखुम्बु।सोलुदुधकुण्ड नगरपालिकाका नवनिर्बाचित प्रमुख नाम्गेल जाङबु शेर्पाले हिंजो एउटा पार्टीबाट चुनावमा होमिए पनि निर्वाचित भएपछि अब सबैको साझा बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

नेपाली कांग्रेस सोलुखुम्बुका सभापतिसमेत रहेका शेर्पाले सामाजिक सन्जाल फेसबुकमार्फत मतदाताहरुलाई धन्यवाद व्यक्त गर्दै सो प्रतिबद्धता व्यक्त गरेका हुन।बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्बाचनमा शेर्पाले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका आङकाजी शेर्पालाई ५७८ मतले पराजित गर्दै जिल्लाको एकमात्र नगरपालिका सोलुदुधकुण्डको मेयरका रूपमा दोश्रो पटक निर्बाचित भएका थिए।
भोट माग्न आउँदा गरेका सबै बाचाहरु पूरा गरिने उल्लेख गर्दै सामाजिक सन्जालमा उनले मतदाताहरुको मतको उच्चसम्मान गर्दै बाँकी रहेका अधुरा कामहरुको पूर्णता र नगरको मुहार फेर्दै नगरवासीको जीवनस्तर उकास्ने र दीर्घकालीन महत्वका परियोजनाहरुको शुरुवात गर्ने जनाएका छन् ।
उनले अगाडी लेखेका छन,-“बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचन सम्पन्न गराउन भुमिका खेल्ने राज्यका सबै निकाय अनि निर्वाचन सफल बनाउन मतदान गर्ने सबै मतदाता र सोलुदुधकुण्ड नगरपालिकामा मेरो नेतृत्त्वको नेपाली काँग्रेसलाई विजयी गराउने सबै मतदाताहरुलाई धन्यबाद ज्ञापन गर्दछु । चुनावी दौरानमा अहोरात्र खटिने पार्टीका विभिन्न तहमा क्रियाशिल नेता तथा कार्यकर्ताहरु, शुभेच्छुक तथा शुभचिन्तकहरुप्रति आभार ब्यक्त गर्दछु । म दोश्रो कार्यकालको लागि नगरप्रमुखमा निर्वाचित भएसँगै तपाईहरुको मतको उच्च सम्मान गर्नेछु । अब सोलुदुधकुण्ड नगरपालिकामा झन तपाईको नजिकको र हर सुखदुखको सारथीको रुपमा नजिकको सरकार बन्ने विश्वास दिलाउन चाहन्छु।”

