सोलुदुधकुण्डमा फेरि मार्‍यो कांग्रेसले बाजी,प्रमुखमा दोहोरिए नाम्गेल जाङ्बु



सोलुखुम्बु।जिल्लाको एकमात्र नगरपालिका सोलुदुधकुण्डमा फेरि पनि कांग्रेसले नै बाजी मारेको छ।

गत शुक्रवार सम्पन्न निर्बाचनमा प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार आङकाजी शेर्पालाई पराजित गर्दै नेपाली कांग्रेसका उम्मेदवार नाम्गेलजाङ्बु शेर्पा सो नगरपालिकाको प्रमुखमा निर्बाचित भएका हुन्।नगरपालिकाको प्रमुखका रूपमा उनको यो दोश्रो कार्यकाल हो।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुका सभापति समेत रहेका शेर्पाले नेकपा एमालेका उम्मेदवार आङकाजी शेर्पालाई ६ सय ७८ मतान्तरले पराजित गरेका हुन्।नव निर्बाचित प्रमुख शेर्पाले ४ हजार ९ सय ६८ र प्रमुख प्रतिद्वन्दी शेर्पाले ४ हजार २ सय ९० मत ल्याएको निर्बाचन कार्यालयले जनाएको छ।

उपमेयरमा पनि कांग्रेसकै गान्धीमाया तामाङ निर्बाचित भएकि छन् । उनले एमाले उम्मेदवार मोहनकुमारी कार्कीलाई पराजित गरेकी हुन्। तामाङले ४ हजार ३ सय ८५ मत र निकटतम प्रतिद्वन्दी कार्कीले ४ हजार २ सय ७३ मत ल्याएकी छन् ।

आज सम्पन्न भएको मत गणनाको अन्तिम परिणाम अनुसार ११ वटा वडा रहेको नगरपालिकामा ६ वटा वडामा कांग्रेस, ४ वडामा नेकपा एमाले र १ वडामा माओबादी केन्द्रका उम्मेदवारले वडाध्यक्ष जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्