छोरी-बुहारी र परिवारका लागि राजनीति गर्नेहरुलाई पाखा लगाउनुपर्छ : राप्रपा नेतृ रेखा थापा
पोखरा ।राष्ट्रिय प्रजातन्त्र पार्टीकी केन्द्रीय सदस्य एवं नायिका रेखा थापाले आफ्नो छोरी बुहारी र परिवारको लागि राजनीति गर्ने नेतालाई नेपाली जनताले पाखा लगाउनुपर्ने बेला आएको छ बताएकी छन् ।

देशभरीका लाखौं छोरीहरुको सवालमा, देशका दाजुभाइको सवालमा नेपाल बेरोजगार उत्पादन गर्ने कारखाना बन्यो भनेर आफूहरुको मनमा चिन्ता परेको उल्लेख गर्दै शनिबार पोखरामा राप्रपाको चुनावी सभालाई सम्बोधन गर्ने क्रममा नेतृ थापाले तर शीर्ष नेता भनाउँदाहरु आफ्नो श्रीमती र छोरीको चिन्तामा सीमित भएको बताइन्।छोरी नजिताए देश दुर्घटनामा पर्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र आफ्नो पार्टीका नेता नजिताए बजेट नदिने कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाको अभिव्यक्तिमा आपत्ति जनाउँदै थापाले शीर्ष नेताहरुको दादागिरीलाई जनताले जवाफ दिने बताइन्।
थापाले देश बिगार्नमा शेरबहादुर, प्रचण्ड र केपीकोमात्र होइन तिनका पछाडि लाग्ने कार्यकर्ताको पनि हात रहेको बताइन्। ‘देश बनाउन र राष्ट्रिय जोगाउन सही पार्टीलाई ल्याउनुपर्छ। यो सबै कुराको लेखाजोखा स्थानीय तह चुनावबाट गर्नुपर्छ। राष्ट्रियता धर्म संस्कृति रक्ष जोगाउने जिम्मा नेपाली जनतामा आइपुगेको छ। नेपाली जनता सधै रैती हुन सक्दैन,’ उनले भनिन्।
रोजगारी दिने, महिलाहरुको सुरक्षा दिने एजेण्डा लिएर राप्रपा आएको भन्दै थापाले एकपल्ट सेवा दिने मौका दिन आग्रह गरिन् । अर्कोपल्ट भोट माग्न नआउनेगरी काम गर्ने प्रतिबद्धता थियो।

