गभर्नर निलम्बन बद्नियतपूर्ण रहेको सर्बोच्चको ठहर,के गर्लान् अब अर्थमन्त्री ?



काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी माथि थालेको छानबिन प्रक्रिया प्रारम्भिक रूपमा त्रुटिपूर्ण रहेको ठहर गर्दै मुद्दाको फैसला नभएसम्मका लागि सो निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ।

गर्भनर अधिकारीलाई प्रस्ट कारणबिनै जाँझबुझ समिति गठन गरिएको ठहर गर्दै न्यायाधीशहरू सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासले फैसला नभएसम्मका लागि सरकारको निर्णयमा रोक लगाएको हो।

सरकारले नेपाल राष्ट्र बैंक ऐनअनुसार छानबिनका लागि निलम्बन गरेको दाबी गरे पनि
सर्वोच्चले गभर्नरमाथि छानबिन गर्न नेपाल राष्ट्र बैंक ऐनको दफा २२ र २३ मा भएको व्यवस्था अनुसार छानबिन समिति गठन हुनुपूर्व नै उसमाथि आरोप लाग्नुपर्ने भनेको छ । आरोपित नै नगरी कसैलाई पनि पदमुक्त गराउने प्रक्रिया सुरु गर्न नमिल्ने सर्वोच्चको ठहर छ।

सर्वोच्च अदालतले भनेको छ, ’कुनै पनि व्यक्तिलाई पदबाट मुक्त गर्दा स्पष्ट आधार र कारण खुलाउन आवश्यक हुन्छ । तर, सो मान्य, सिद्धान्तविपरीत निवेदकलाई कुनै कारण र आधार नखुलाई केवल कार्यक्षमताको अभावजस्तो अस्पष्ट र बृहत् आधारमा निलम्बन गर्ने कार्य गरिएको हुँदा विपक्षीहरूको सो निर्णय स्वेच्छाचारी भएकोले बदरभागी छ ।’

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा २२ (१) को प्रतिबन्धात्मक वाक्यांशले नेपाल सरकारले पदमुक्त गर्नुभन्दा अघि सम्बन्धित व्यक्तिलाई आफ्नो सफाइ पेस गर्ने उचित अवसरबाट वञ्चित गरिनेछैन भनी सुनुवाइको मौकाको सुनिश्चितता गरेको छ । यस परिप्रेक्षमा रिट निवेदकलाई कुनै पनि सुनुवाइको मौका नै नदिई कुनै स्पष्टीकरणसमेत नलिई सिर्फ पूर्वाग्रह राखी बदनियतले पदबाट निलम्बन गर्ने कार्य असंवैधानिक तथा कानुनी व्यवस्थाविपरीत रहेको छ । निवेदकको योग्यताको प्रश्न उठेकै छैन र उठेपछि समकक्षता गरिसकेको छ,’ आदेशमा भनिएको छ ।सर्वोच्चले दुवै पक्षको बहस करिब १५ घन्टासम्म सुनेको थियो।

गत चैत अन्तिम साता मन्त्रिपरिषद् बैठकले गभर्नर अधिकारीमाथि छानबिन गर्नेगरी समिति गठन गरेको थियो । सो समिति गठनपछि अधिकारी स्वतः निलम्बनमा परेका थिए । छानबिन समितिविरुद्ध सर्वाेच्च गएका अधिकारीलाई काममा फर्किन अल्पकालीन अन्तरिम आदेशमार्फत वैशाख ६ गते बाटो खुलेको थियो ।

अन्तरकालीन आदेश जारी गरेसंगै अर्थमन्त्री जनार्दन शर्माले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने आवाज सर्बत्र उठेको थियो।अन्तरकालीन आदेशलाई निरन्तरता दिएपछि उनले अब के गर्छन् कौतुहलताको बिषय बनेको छ।

प्रतिक्रिया दिनुहोस्