यी स्थानीय तहका उम्मेदवार भए निर्बिरोध,प्रक्रिया मिलाएर घोषणा गर्ने आयोगको तयारी
काठमाडौँ। स्थानीय तह निर्वाचनका लागि भएको मनोनयनका क्रममा मुस्ताङमा १८, गोरखामा ७, डोल्पामा ५, ताप्लेजुङमा ५ र मनाङमा ५ जना निर्बिरोध निर्बाचित भएका छन् । एकल उम्मेदवारी परेको छ।डोल्पाका तीन पालिकाहरू छार्का ताङसोङ, काइके र शे फोक्सुन्डोमा अध्यक्ष र तीमध्येकै दुई पालिकामा उपाध्यक्षमा एकल उम्मेदवारी परेको छ । छार्का ताङसाङ गाउँपालिका अध्यक्षमा एकीकृत समाजवादीका सेनाङ गुरुङ र उपाध्यक्षमा एमालेका कार्मा सिन्दुल गुरुङको मात्र उम्मेदवारी परेको छ । एमाले र एकीकृत समाजवादीबीचको तालमेलले त्यहाँ सर्बसम्मत भएको हो। काइके गाउँपालिकाको अध्यक्षमा एकीकृत समाजवादीका अंगत राना र उपाध्यक्षमा कांग्रेसका लिमी रोका तथा शेफोक्सुन्डो गाउँपालिका अध्यक्षमा एमालेका धावा छन्दुक गुरुङको एकल उम्मेदवारी परेको छ । डोल्पाका मुख्य निर्वाचन अधिकृत केशव चपाइले ५ जना अध्यक्ष–उपाध्यक्षको एकल उम्मेदवारी परेको जानकारी आए पनि मंगलबारसम्म विवरण रुजु गरेपछि मात्र आधिकारिक रूपमा भन्न सकिने बताए । उपल्लो डोल्पामा शेफोक्सुन्डो, छार्कातोन्साङ र डोल्पोबुद्ध गरी ३ गाउँपालिका छन् । स्थानीय तहको गत निर्वाचनमा सेनाङसहित ३ जना अध्यक्ष र उपाध्यक्ष स्वतन्त्रबाट विजयी भएका थिए ।

उता ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाको निर्वाचन अधिकृतको कार्यालयमा सोमबार उम्मेदवारी दर्ता गर्न ७ जना मात्रै आए । उनीहरूमध्ये २ जना प्रस्तावक बसे भने अन्य पाँचले अध्यक्षसहितको पदमा एकल उम्मेदवारी दर्ता गराए ।फक्ताङलुङका निर्वाचन अधिकृत राजकुमार दाहालका अनुसार वडाध्यक्षमा छेतेन लामा शेर्पाको मात्र उम्मेदवारी परेको छ । वडा सदस्यमा टाँसी शेर्पा र वाङया शेर्पा, महिला सदस्यमा फुपुल्हामु श्रेष्ठ र दलित महिला सदस्यमा विपना तुम्बाहाम्फे विश्वकर्माको उम्मेदवारी पर्यो । यी पाँचै जनाको प्रस्तावक बसे निवर्तमान वडाध्यक्ष छेतेन शेर्पा भोटे र समर्थक थिए दावा चुङ्दा शेर्पा । दाहालका अनुसार आवश्यक पद संख्या जति मात्र उम्मेदवारी परेकाले उनीहरू निर्विरोध भए पनि घोषणा आवश्यक प्रक्रिया पूरा भएपछि हुनेछ ।

