स्थानीय तह निर्बाचन : आजबाट उम्मेदवारी मनोनयन दर्ता, शान्तिपूर्ण बनाउन आयोगको आग्रह



काठमाडौं।स्थानीय तह सदस्य निर्वाचनका लागि आइतबार र सोमबार हुने मनोनयन दर्तालाई व्यवस्थित र शान्तिपूर्ण ढङ्गले सम्पन्न गर्न गराउन निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय तथा सम्बद्ध सबैमा अपिल गरेको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा शनिबार जारी गरिएको विज्ञप्तीमार्फत सो अपिल गरिएको हो । कानून बमोजिमको योग्यता पुगेका सबै नागरिकको स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवार बन्न पाउने नैसर्गिक अधिकारमाथि कहीँ कतैबाट कुनै अवरोध आउन नदिन पनि आयोगले आग्रह गरेको छ ।

आयोगद्वारा जारी विज्ञप्तीमा भनिएको छ, “निर्धारित दुई दिनमध्ये कुनै दिन दल वा स्वतन्त्र उम्मेदवारको मनोनयन दर्ता हुन आएको खण्डमा सोही दिन उम्मेदवारको मनोनयन दर्ता गर्ने व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयलाई जानकारी गराइन्छ ।”

आयोगले वैशाख ११ गते विहान १० बजेदेखि ५ बजेसम्म र सोमबार १२ गते विहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्