श्रमजीवीलाई तलब नदिने कान्तिपुर टेलिभिजन र नागरिक दैनिकमा धर्ना दिंदै पत्रकार महासंघ



काठमाडौँ।नेपाल पत्रकार महासंघले मिडिया हाउसहरूमा धर्नासहितको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।

काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरी महासंघले श्रमजीवी पत्रकारको शोषण गर्ने मिडिया हाउसमा वैशाख ५ गतेदेखि धर्नासहितको आन्दोलनको कार्यक्रम गर्ने जानकारी गराएको हो।

श्रमजीवी पत्रकारको शोषण गर्ने मिडिया हाउसमा संवादमार्फत समस्या समाधान गर्ने प्रयास सफल हुन नसकेपछि धर्नासहितको आन्दोलनको कार्यक्रम सुरु गर्न बाध्य हुनुपरेको महासंघका अध्यक्ष विपुल पोखरेलले बताए।

उनले श्रमजीवी पत्रकार र प्रेस स्वतन्त्रताको पक्षमा काम गर्ने मुख्य दायित्वबाट आफूहरु कुनै पनि हालतमा पछि हट्न नसक्ने समेत स्पष्ट पारे।

अध्यक्ष पोखरेलले भने, ‘पत्रकार महासंघले श्रमजीवि पत्रकारहरुको पक्षमा काम गर्छ। श्रमजीवि पत्रकारहरुको हितमा काम गर्ने सन्दर्भमा यसका गुनासोहरुको तथ्यांकहरु छन। त्यो तथ्यांकलाई सम्बोधन गर्ने क्रममा हामी आन्दोलनमै जानुपर्छ भन्ने निष्कर्ष निकाल्न एक वर्षको कार्यकालको समिक्षापछि बाध्य भएका छौं। त्यसकारण भोलीदेखि आन्दोलनको कार्यक्रम तय गरेका छौँ।’

महासंघले सोमबार र मंगलबार कान्तिपुर टेलिभिजन र यसपछि नागरिक दैनिकमा धर्नाको कार्यक्रम राखेको छ।

प्रतिक्रिया दिनुहोस्