गठबन्धनमा पनि हेपिए माधव नेपाल,छुट्टै गठबन्धन निर्माण गर्ने तयारी
काठमाडौं।चुनावी तालमेललाई लिएर सत्ता गठबन्धन जटिल संकटतिर धकेलिरहँदा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आइतवार आन्तरिक सर्कुलर जारी गरेका छन्।

देशभरका ७५३ पालिकाहरुमा भागबण्डा गर्ने क्रममा गठबन्धनका दुई समाजवादी दलले आफूहरुलाई हेपेको गुनासो गरिरहेका बेला अध्यक्ष नेपालले आन्तरिक सर्कुलर जारी गर्दै कांग्रेसबाहेकको गठबन्धन तयारी थाल्न भनेका छन्।
स्थानीय तह निर्वाचनका लागि काठमाडौं या पोखरा महानगरपालिकामध्ये एक मागेको समाजवादीले आफूले चाहे जस्तो अवस्था नदेखेपछि अलग्गै तयारी थालेको हो।
आइतवार जारी गरिएको आन्तरिक सर्कुलरमा अध्यक्ष नेपालले प्रमुख सत्तारुढ कांग्रेसले साझेदार दललाई होच्याउने गरी भागबण्डा गर्न चाहेको निष्कर्षसहित अलग्गै गठबन्धनका लागि तयार हुनुपर्ने बताएका छन्।
अध्यक्ष नेपालले पार्टीका केन्द्रीय सदस्यहरुसहित शीर्ष नेतृत्व तहमा पठाएको सर्कुलरमा गठबन्धनको कांग्रेससँगको सहयात्रा सहज नभएको बताएका छन्।
‘गठबन्धनको कांग्रेससँगको यात्रा सहज देखिएको छैन’, उनले भनेका छन्, ‘आ-आफ्नो ठाउँमा कांग्रेससँगको गठबन्धनको सम्भावना कायम राख्दै कांग्रेसबाहेकको गठबन्धनको तयारीमा भोलि देखि नै लाग्न अनुरोध छ।’
नेपालले कांग्रेसबाहेकको गठबन्धनका लागि तयार हुनुपर्ने गरी विभिन्न कारण पनि दिएका छन्।
उनले गठबन्धनबाट कांग्रेसले काठमाडौंका कुनै पनि स्थानमा नगर प्रमुख दिन तयार नभएको गुनासो गरेका छन्।
त्यसैगरी काठमाडौंभित्रै केबल तीनवटा मात्रै उपप्रमुख अन्य दललाई दिन कांग्रेस तयार भएको पनि नेपालले उल्लेख गरेका छन्।
समाजवादीले वडा बाँडफाँट वटा तहबाट नै गर्नुपर्ने धारणा आफूहरुको रहेको पनि बताएका छन्।
नेपालले कांग्रेसले आफूले जितेका कुनै पनि स्थानमा वडा सदस्यसमेत पनि अन्य दललाई दिन कांग्रेस तयार नभएकाले विकल्प खोज्ने गरी अघि बढ्न भनेका हुन्।
केही दिनअघि अध्यक्ष नेपाललाई लक्षित गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अझै पनि एमालेमै रहेको जस्तै ठानेर धेरै भाग खोजेको बताएका थिए।
त्यसपछि नेपालले सार्वजनिक कार्यक्रममै गठबन्धनका दलहरुबाटै आफूहरुको अपमान हुन थालेको गुनासो गरेका थिए।
आइतवार बालुवाटारमा दुई पटकसम्म बसेको सत्ता गठबन्धन बैठकले महानगर र उपमहानगर पनि भागबण्डा मिलाउन सकेन। कुरा नमिलेपछि बैठकमा गम्भीर छलफल नभएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका थिए।

