स्थानीय आवश्यकता र अवस्था हेरेर चुनावी तालमेल गर्ने कांग्रेसको निर्णय
काठमाडौं।नेपाली कांग्रेसले आगामी स्थानीय तहको निर्वाचनमा गठबन्धनमा आवद्ध दलहरूसँग तालमेल गर्ने निर्णय गरेको छ ।

मंगलबार सम्पन्न नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठकले ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा स्थानीय अवस्था र आवश्यकताको आधारमा गठबन्धनका दलहरूसँग तालमेल गर्ने निर्णय गरेको हो ।बैठकको निर्णयबारे जानकारी दिँदै प्रवक्ता प्रकाशशरण महतले कांग्रेसलाई अझ सबल र व्यापक बनाउनका लागि गठबन्धन दलहरूसँग तालमेल गर्ने नीतिगत निर्णय सर्वसम्मत रूपमा गरिएको बताए ।
गठबन्धन दलहरूसँग तालमेल गर्ने नीतिगत निर्णयलाई व्यवहारमा कार्यान्वयन गर्न पार्टीले केन्द्रदेखि स्थानीय तहसम्म संयन्त्र बनाउने प्रवक्ता महतले जानकारी दिए पार्टी विधानले दिएको अधिकारका आधारमा सम्बन्धित तहले तालमेलको निर्णय गर्ने र पार्टी केन्द्रले आवश्यक निर्देशन र व्यवस्थापन मिलाउने उनले बताए ।
केन्द्रीय समिति बैठकले ३० फागुनमा सम्पन्न नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले गरेका निर्णयहरूलाई अनुमोदनसमेत गरेको छ । त्यस्तै, कांग्रेसको विधान २०१७ संशोधनसहितको धारा ४ बमोजिम देशव्यापी रूपमा कांग्रेसको सदस्यता र कांग्रेसको क्रियाशील सदस्यता वितरण प्रारम्भ गर्ने निर्णय पनि गरेको छ ।


