तेल र ग्यासको सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी चीनसँगको सम्झौता समयावधि २ वर्ष थप गर्ने निर्णय
काठमाडौं। सरकारले चीनसँग भएको तेल र ग्याँसको सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी सम्झौताको समयावधि २ वर्ष थप गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलवार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै
नेपाल सरकार मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले सो निर्णय गरेको जानकारी दिएका हुन्।प्रबक्ता कार्कीका अनुसार सरकारले छिमेकी मित्रराष्ट्र चीनले प्रस्ताव गरेको सीमा वारपार रेल्वे सम्भाव्यता अध्ययनसम्बन्धी प्रविधि सहायता स्वीकार गर्ने निर्णय समेत गरेको छ ।
चीनले प्रस्ताव गरेको आर्थिक तथा प्राविधिक सहायता सम्झौताअन्तर्गत सो सहायता स्वीकृत गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको उनको भनाइ छ।
मन्त्रिपरिषद् बैठकले दुग्ध विकास संस्थानको महानिर्देशक पदमा सर्लाहीका सञ्जीव झालाई नियुक्त गर्ने निर्णय गरेको छ।

