सोलुखुम्बु बहुमुखी क्याम्पसलाई नेचासल्यान गाउँपालिकाको ६ लाख सहयोग



सोलुखुम्बु ।नेचासल्यान गाउँपालिकाले जिल्ला सदरमुकामस्थित सोलुखुम्बु बहुमुखी क्याम्पसलाई ६ लाख सहयोग हस्तान्तरण गरेको छ।

५ सय विद्यार्थीलाई आवासीय सुविधासहितको उच्चशिक्षा उपलब्ध गराउन सो क्याम्पसले सुरु गरेको
मेचीकाली विश्व अभियानका लागि सो सहयोग हस्तान्तरण गरिएको नेचासल्यान गाउँपालिकाले जनाएको छ।गाउँपालिकाको तर्फबाट ५ लाख र वडा नं ३ को तर्फबाट गरि जम्मा ६ लाख रुपैयाँको चेक सोमबार आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले क्याम्पस प्रमुख उद्द्बकुमार शर्मालाई हस्तान्तरण गरेका हुन्।

हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका प्रशासकीय अधिकृत लबुन राई,३ नं वडाध्यक्ष धर्मध्वज खत्री,४ नं वडाध्यक्ष कृष्णकुमार राई र ५ नं वडाध्यक्ष राजन राई लगायतको उपस्थिति रहेको थियो।

यसअघि एक करोड सहयोगको घोषणा गरेको सोलुदुधकुण्ड नगरपालिकाले दुई किस्तामा ४४ लाख २५ हजार सहयोग रकम हस्तान्तरण गरिसकेको छ ।

प्रथम सगरमाथा आरोही एडमन्ड हिलारीको पहलमा स्थापित सोलुखुम्बु बहुमुखी क्याम्पसले टुरिजम र माउन्टेनरिङ विषयमा निःशुल्क शिक्षा उपलब्ध गराउन थालेको मेची–काली अभियानमा हालसम्म २२ सय नागरिकले सहभागीता जनाएका छन् ।

एक व्यक्तिसँग न्यूनतम १ सय रुपैयाँ सहयोग लिएर एक अर्बको अक्षयकोष बनाउने लक्ष्य राखिएको छ । २०७५ फागुन ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले अभियानको उद्घाटन गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्