सडक बिस्तारको क्रममा झडप हुंँदा सांसद शाह गम्भीर घाइते,काठमाडौं ल्याउने तयारी हुँदै

सर्लाही ।सर्लाहीको ईश्वरपुर नगरपालिकामा एक पक्षीय रुपमा सडक फराकिलो पार्न खोजेको भन्दै विरोधमा उत्रिएका स्थानीय बासिन्दाबीच भएको झडपमा सांसद प्रमोद साह घाइते भएका छन्।

इश्वरपुर नगरपालिका–६, बयलवास बजारमा भएको झडपमा स्थानीय बासिन्दाबीच ढुंगा हानाहान भएपछि विवाद साम्य पार्न गएका सांसद साहलाई चोट लागेको हो। टाउकोमा चोट लागेका साह गम्भीर घाइते भएका छन्।
सर्लाही १, का सांसद साहलाई उपचारको लागि काठमाडौ पठाउने तयारी गरिएको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय, बयलवासका प्रहरी निरीक्षक जनक ढुगानाले सांसद साहको टाउकोमा २५ वटा टाँका लागेको बताए। उनको बयलबासस्थित अमृत हेल्थकेयर अस्पतालमा उपचार भइरहेको छ।
सांसद साहलाई जोगाउने क्रममा उनका सुरक्षागार्ड असइ विनोदप्रसाद यादव पनि घाइते भएका छन्। विरोधमा उत्रिएका स्थानीय बासिन्दाले गाडी र मोटरसाइकल पनि तोडफोड गरेका छन्।
बयलबासमा रहेको फुलजोर बाबा युवा क्लबको भवन सडक किनारमै रहेको छ। सडक विस्तारका क्रममा क्लबको भवन केही भत्किएको थियो।
क्लबले सडकको जमिन छुट्टाएर भवन बनाउन खोजेको थियो। सडकमा भवन नबनाउन स्थानीय बासिन्दाले दवाव दिँदै आएका थिए। उनीहरू सडकबाट क्लबको भवन हटाउनपर्ने बताउँदै आएका थिए।

