चुनावी गठबन्धन गरे कांग्रेस झन कमजोर हुने कांग्रेस प्रदेश सभापतिहरुको चेतावनी

काठमाडौं।सभापति शेरबहादुर देउवाले तीनवटै तहको चुनावमा गठबन्धन गरेर जानुपर्ने बताईरहेका बेला नेपाली कांग्रेसका प्रदेश सभापतिहरु भने त्यस बिरुद्ध उंभिन पुगेका छन्।

चुनावी रणनीतिलगायत समसामयिक विषयमा छलफल गर्न शुक्रवार बसेको कांग्रेस बैठकमा प्रदेश सभापतिहरूले स्थानीय चुनावमा गठबन्धन र तालमेल गर्दै गएमा पार्टी झन्झन् कम्जोर हुँदै जाने भन्दै गठबन्धन विरुद्ध उंभिएका हुन् ।
बैठकमा प्रदेश १ का सभापति उद्धव थापा र बागमतीका सभापति इन्द्र बानियाँबाहेकका सभापतिहरुले केन्द्रबाटै घोषित गठबन्धनको बिरोध गर्दै स्थानीय आवश्यकता अनुसार तालमेल गर्न सकिने बताएको एक केन्द्रीय सदस्यले बताए ।
बैठकबाट बाहिरिएका केन्द्रीय सदस्य बलबहादुर केसीले कांग्रेस आफैँमा बलियो रहेकोले तालमेल गर्न नहुने धारणा आएको बताए ।
‘विगतमा हामीले तालमेल गरेर भरतपुरमा माओवादी उम्मेदवारलाई जितायौँ । केन्द्रको चुनावको बेला अर्कै दलसँग तालमेल गरे । सिद्धान्त मिल्ने दलसँग मात्र तालमेल गर्नुपर्छ,’ बैठकमा राखेको कुरा उल्लेख गर्दै केसीले भने ।

