माओवादी केन्द्रले खड्कालाई बनायो सोताङ अध्यक्षको उम्मेदवार,एमाले र एसका केहि नेता पनि भित्र्यायो




सोलुखुम्बु।नेकपा माओवादी केन्द्रले जिल्लाको सोताङ गाउँपालिकामा दिपक खड्कालाई उम्मेदवार बनाउने भएको छ।

पार्टीको जिल्ला समन्वय समिति सदस्य रहेका खड्कालाई आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्बाचनमा माओवादी केन्द्रले गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो। शुक्रबार आयोजित उम्मेदवार घोषणा तथा पार्टी प्रवेश कार्यक्रममा नेकपा माओवादी केन्द्र्का केन्द्रीय सदस्य तथा सोलुखुम्बु जिल्ला इन्चार्ज हेमकुमार राई ‘सुरबीर’ले खड्कालाई उम्मेदवार बनाउने घोषणा गरेका हुन्।कांग्रेस समर्थक रहेका खड्काले ०७४ सालको स्थानीय तह निर्बाचनमा पार्टीबाट बिद्रोह गरेर अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका थिए।त्यसको झण्डै एक बर्षपछि तत्कालीन नेकपा प्रवेश गरेका खड्काले पछि माओवादी केन्द्र रोजेका हुन्।

सोहि कार्यक्रममा नेकपा एमालेका पुराना नेता भीमराज राई र नेकपा एकीकृत समाजबादीका प्रदेश कमिटी सदस्य जुद्दबहादुर कार्कीलगायतका नेता कार्यकर्ता नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको सो पार्टीले जनाएको छ।नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका राई एमाले जिल्ला कमिटी सदस्य तथा ०५४ सालको स्थानीय तह निर्बाचनमा सोताङ गाउँपालिकाका निर्बाचित उपाध्यक्ष हुन्।कार्यकाल नसकिंदै यति एयरलाइन्समा जागीरे जीवन सुरु गरेका राई गत बर्षबाट मात्रै गाउँ फर्किएको बताइएको छ।उनलाई तत्कालीन एमाले नेतृत्वको प्रदेश १ सरकारले प्रदेश पर्यटन बोर्ड सदस्य नियुक्त गरेको थियो।

नेकपा एसका प्रदेश कमिटी सदस्य कार्कीसंगै सो पार्टीका युवा संघ सोताङ गाउँपालिका सचिव प्रविण राईपनि माओवादी केन्द्रमा प्रवेश गरेका छन् । नवप्रवेशी नेता तथा कार्यकर्तालाई माओवादी केन्द्रका इन्जार्च तथा प्रतिनिधि सभा सदस्य हेम कुमार राई ‘शुरवीर’ले खादा र अविर लगाएर स्वागत गरेका थिए ।

कार्यक्रममा माओवादी केन्द्र जिल्ला समन्वय समिति संयोजक असिम राई लगायतका जिल्ला तथा पालिकास्तरका नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो।

प्रतिक्रिया दिनुहोस्