एमाले बैठकमा सकियो प्रदेश अध्यक्षहरुको रिपोर्टिङ,प्रतिबेदनमाथि छलफल भोलि

काठमाडौं । नेकपा एमालेको बुधबारको बैठक सकिएको छ। काठमाडौंको माइतीघरस्थिति कार्की ब्यांक्वेटमा बसेको बैठकको पहिलो दिन राजनीतिक प्रतिवेदन पेस भएको छ। बुधवार प्रस्तुत भएका प्रतिवेदनमाथि अब बिहीवार छलफल हुने भएको छ ।

बुधबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेस गरेका थिए। महासचिव शंकर पोखरेलको सांगठनिक प्रतिवेदन तथा प्रदेशका अध्यक्षहरूको रिपोर्टिङ प्रस्तुत भएको पार्टीका प्रचार विभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
बैठकमा सात वटै प्रदेशका प्रमुखले गरेको रिपोर्टिङका आधारमा एमाले ६ वटा प्रदेशमा पहिलो शक्ति रहेको र मधेस प्रदेशमा अझै स्पष्ट भइनसकेको निष्कर्ष निकालिएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिनुभयो ।
पार्टी फुटको खासै असर नरहेको, एमालेको सरकार हुँदा नागरिकको पक्षमा काम गरेको, गठबन्धन सरकारले विकास निर्माणका काम गर्न नसकेको लगायतका विषयलाई आँकलन गर्दा एमालेले चुनावमा बहुमत ल्याउने पनि बैठकको निष्कर्ष रहेको छ ।
आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको रक्षाका लागि स्थानीय तहको चुनावमा आफ्नो पार्टीले बहुमत हासिल गर्नुपर्ने बताउनुभएको छ । एमालेविरुद्ध भ्रमपूर्ण प्रचारहरू भएको दाबी गर्दै खण्डन गरेर चुनावमा बहुमत हासिल गर्ने गरी तयारी गर्न नेता/कार्यकर्तालाई उहाँले निर्देशन दिनुभयो ।

