सोलुखुम्बु : निर्बाचनमा होमियो माओवादी केन्द्र,चैत १५ भित्र सबै पालिकामा बिशेष भेला गर्ने

सोलुखुम्बु। नेकपा (माओवादी केन्द्र) सोलुखुम्बु स्थानीय तह निर्बाचनमा होमिएको छ।

सदरमुकाम सल्लेरीमा सम्पन्न जिल्ला समन्वय समितिको दोस्रो पुर्ण बैठकबाट स्थानीय तह निर्बाचन लक्षित विभिन्न निर्णय गर्दै सो पार्टी निर्बाचनमा होमिएको हो।बैठकले स्थानीय तह निर्बाचनलाई मध्यनजर गर्दै ‘एक बुथ, एक सय एक युथ’ गठन गर्ने र चैत १५ गतेभित्र सम्पुर्ण पालिकामा विशेष भेला सम्पन्न गरिसक्ने निर्णय गरेको माओवादी केन्द्र सोलुखुम्बुले जनाएको छ। यस्तै निर्वाचन परिचालन समिति सम्बन्धमा सम्बन्धित पालिकालाई नै जिम्मा दिने निर्णय भएको पनि बताइएको छ।
जिल्ला समन्वय समिति सचिवमा प्रदेश समिति सदस्य समेत रहेका नाम्गेल शेर्पालाई जिम्मेवारी दिने निर्णय गरेको सो बैठकले विभिन्न समिति संयोजक र फ्याक्सन इन्चार्जहरु तोकेको समन्वय समितिका अध्यक्ष असिम राईले जानकारी दिए।जस अनुसार जनसम्पर्क समन्वय समितिको संयोजकमा हेम कुमार राई, आर्थिक समिति संयोजकमा असिम राई, जनबर्गीय संगठन मोर्चा फ्याक्सन इन्चार्जमा ध्रुव शर्मा पराजुली, घोषणा पत्र मस्यौदा समितिमा हिमाल गिरी, प्रचार प्रसार समिति संयोजकमा भोजराज कार्की र अखिल क्रान्तिकारीको फ्याक्सन इन्चार्जको जिम्मेवारी बिजय तामाङलाई दिइएको छ ।यस्तैगरी वाइसिएल, विद्यार्थी र जनबर्गीय संगठनको इन्चार्ज पनि तोकिएको छ ।
माओवादी केन्द्र जिल्ला समन्वय समिति संयोजक राईको अध्यक्षतामा सम्पन्न बैठकलाई सम्बोधन गर्दै प्रमुखअतिथि नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य सुरेशकुमार राई (हिमाल), केन्द्रीय सदस्य शिबबहादुर बस्नेत (राजेन्द्र), केन्द्रीय सदस्य एवम् सोलुखुम्बुका संघीय सांसद हेमकुमार राई (शुरवीर)ले अबको स्थानीय तह निर्वाचनमा माओवादी पार्टी पहिलो बन्ने दावी गरेका थिए । माओवादीले जितेका स्थानीय तहमा भएको बिकास निर्माणको अवस्था र र उठाउने गरेका जनपक्षीय एजेन्डाका कारण अरु दलसंग गठबन्धन नगरी एक्लै चुनाव लडेर पहिलो पार्टी बन्ने प्रशस्त आधार रहेको उनीहरूको भनाइ थियो।

