उपत्यकासहित हिमाली तथा पहाडी जिल्लामा आज होली पर्व मनाईदै
काठमाडौं।काठमाडौं उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा बिहीबार फागुपूर्णिमा मनाइँदै छ। प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन फागुपूर्णिमा मनाइन्छ।

फागुपूर्णिमा विशेष रुपमा बालबालिकादेखि वृद्धवृद्धाले उत्सवका रुपमा एकापसमा रङ, अबिर लगाइदिने, नाच गान गर्ने र मीठो परिकार बनाएर खाने र खुवाउने गरेर हर्षोल्लासका साथ मनाइने गरिन्छ।
किम्बदन्तीका अनुसार त्रेता युगमा नास्तिक हिरण्यकश्यपु नामक क्रुर राक्षस थिए। उनी नास्तिक भएका कारण भगवानको लीलामा विश्वास गर्दैनथे। उनको प्रह्लाद नामक छोरा थिए, जो भगवान विष्णुक परम भक्त थिए।
हिरण्यकश्यपु आफूले आफूलाई बलवान ठाँन्दथे। तर, उनको पुत्र उनको आराधना नगरी विष्णु भगवानको आराधना गर्दथे। त्यो कुरा उनले सहन सकेन। जसकारण आफ्नै पुत्रलाई मार्न तयार भए।
अन्तत: उनको योजनाअनुरुप हिरण्यकश्यपुले पुत्रलाई अग्निकुण्डमा राखेर मार्नको निम्ति अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादलाई काखमा राखेर अग्नि कुण्डमा बसाए। तर, अग्निमा बस्दा पनि विष्णु भगवानको प्राथना गरेर बसेका प्रह्लादलाई अग्निले भष्म गरेन। उल्टै होलिका भने भस्म भइन्।
अन्तमा हिरण्यकश्यपुलाई भगवान विष्णुले नृसिंह अवतार लिएर मारेका थिए। होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ र अबिर लगाएर होली पर्व मनाउने परम्परा परापूर्वक कालदेखि चलिआएको धार्मिक मान्यता छ।
बिहीबार पहाड तथा हिमाली क्षेत्रमा मनाइने फागु पूर्णिमा शुक्रबार तराई मधेसमा होलीको रुपमा मनाइँदै छ।

