एमसीसीविरुद्ध ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले घोषणा गरे आन्दोलनका थप कार्यक्रम



काठमाडौं। अमेरिकी सहयोगको एमसीसी परियोजनाविरुद्ध नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित ६ पार्टी र २ मोर्चाले आन्दोलन घोषणा गरेका छन् ।

प्रतिनिधिसभाबाट सो सम्झौता अनुमोदन नगर्न दबाब दिने उद्देश्यले आन्दोलन गर्दै आएका ती दलले सत्तारुढ गठबन्धनले जवर्जस्त सम्झौता अनुमोदन गरेको बिरोधमा आन्दोलनका थप कार्यक्रम घोषणा गरेका हुन।एमसीसी अनुमोदन गरिएको भोलि पल्ट नेपाल बन्दको आव्हान गरेका उनीहरूले फागुन २० गतेदेखि चैत ६ गतेसम्म अन्तर्क्रिया विरोध प्रदर्शन र सभाका कार्यक्रम रहेको जनाएका छन्।

‘एमसीसी सम्झौता पारित गर्ने राष्ट्रघातका विरुद्ध अविराम र निर्णायक जनसंघर्ष सञ्चालन गर्नु सम्पूर्ण देशभक्त नेपाली जनताको अहम् कर्तव्य हुन पुगेको छ,’ संयुक्त विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा विप्लव, नेपाल कम्युनिस्ट पार्टीका महामन्त्री मोहनविक्रम सिंह, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल, नेपाल कम्युनिस्ट पार्टी अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुती र नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी ‘सुशिल’ले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्