एमसीसी असफल पारेर गठबन्धनमै रहने कुरा नगर्न गठबन्धनका नेतालाई पौडेलको चेतावनी

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एमसीसीमा पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपालले सहयोग नगरे वर्तमान गठबन्धन टुट्न पनि सक्ने बताएका छन् ।

प्रेस युनियन तनहुँले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले एमसीसी पारित गर्न सहयोग नगरे गठबन्धन कायमै राख्नुपर्छ भन्ने पक्षमा काङ्ग्रेस नरहेको प्रष्ट पारेका छन्।
‘सरकारले ल्याएको प्रस्तावको गठबन्धनका दलले सहयोग गर्नुपर्छ, गठबन्धनले साथ नदिए प्रमुख प्रतिपक्षी दलको सहयोगमा भए पनि एमसीसी पास गर्नुपर्छ भन्ने पक्षमा कांग्रेस छ’, उनले भने। वरिष्ठ नेता पौडेलले एमसीसी असफल बनाएर गठबन्धन कायमै राख्छौँ भन्ने कुरा नगर्न गठबन्धनका नेतालाई आग्रह गरे । ‘उस्तै परे चुनावमा पनि जान सकिन्छ, चुनाव घोषणा पनि हुन सक्छ’, उनले भने ।
एमसीसी अमेरिकी जनताको उपहार भएको बताउँदै वरिष्ठ नेता पौडेलले एमसीसीको विषयमा अनावश्यक भ्रम फैलाइएको आरोप लगाए ।

