एमसीसी अनुमोदनका लागि देउवाले गरेको आग्रह अस्वीकार गर्दै बालुवाटारबाट फर्किए ओली

काठमाडौं ।प्रमुख बिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट फर्किएका छन्।

मंगलबार साँझ एमाले नेताहरू ईश्वर पोखरेल, विष्णु पौडेल र विष्णु रिमालसहित बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निबासमा भेटबार्ताका लागि पुगेका पूर्बप्रधानमन्त्री ओलीले एमसीसी अनुमोदनका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले गरेको आग्रह अस्वीकार गरेका हुन् ।
भेटमा देउवाले आफूलाई सत्तारूढ गठबन्धनभित्रबाटै असहयोग भएको बताउँदै एसमीसी पारितका लागि सहयोग गर्न ओलीलाई आग्रह गरेका थिए ।
जवाफमा ओलीले आफूहरूका माग पूरा नभएसम्म संसदीय प्रक्रियामा प्रवेश गर्न नसकिने बताएका थिए । उनले आफूहरूले ६ महिनादेखि सदनमा आवाज उठाएपनि सरकारले बेवास्ता गरेको बताएका थिए ।
एमालेले सूर्य चिह्नबाट निर्वाचित माधव नेपालसहित १४ जना सांसदलाई गरिएको कारबाहीको सूचना सभामुखले टाँस गर्नुपर्ने माग राख्दै आएको छ । वा सभामुखले राजीनामा दिनुपर्ने उसको माग छ ।
लामो रस्साकस्सी र सत्ता साझेदारकै विरोधका बाबजुद सरकारले फागुन ८ गते एमसीसी संसद्मा टेबल गरेको छ । तर, सत्ता साझेदार दलहरू माओवादी केन्द्र र एकीकृत समाजवादीले एसमीसी अनुमोदनमा सहयोग नगर्ने निर्णय नै गरिसकेका छन्।

