बिहारका पूर्वमुख्यमन्त्री लालु यादवलाई ५ बर्ष कैद र ६० लाख भारु जरिवानाको फैसला

एजेन्सी।बिहारका पूर्व मुख्यमन्त्री तथा राष्ट्रिय जनता दल प्रमुख लालु प्रसाद यादवलाई झारखण्डमा सीबीआईको विशेष अदालतले चार घोटालाका पाँचौँ मामिलामा सोमबार पाँच वर्षको कैद सजाय सुनाएको छ । अदालतले उनीमाथि ६० लाख भारुको जरिवाना पनि लगाएको छ । अदालतले उनलाई १५ फेब्रुअरीमा दोषी ठहर गरेको थियो ।

लालु प्रसाद यादव सोमबार भिडियो कन्फरेन्सिङमार्फत अदालतको कारवाहीमा समावेश भए तर अदालत परिसरमा भारी भीड जम्मा भयो । सुरक्षालाई दृष्टिगत गर्दै प्रहरीले अतिरिक्त बल तैनाथ गर्नुपर्यो ।
लालु प्रसाद यादवका वकिल प्रभात कुमारले बीबीसी हिन्दीसँगको कुराकानीमा भने, ‘लालु यादवको उमेर, स्वास्थ्य र पशुपालन घोटालाकै अन्य मामिलामा निश्चित गरिएको सजायलाई अवधिलाई मध्यनजर गर्दै उनका लागि न्यूनतम सजायको माग गरिएको थियो । ’
लालू यादवको वकिलका अनुसार उनले उच्च अदालतमा सजायविरुद्ध अपिल गर्नेछन् ।
लालु प्रसाद यादवका छोरा तथा आरजेडी नेता तेजस्वी यादवले भने, ‘यो अन्तिम निर्णय होइन । यो निर्णयलाई उच्च अदालतमा चुनौती दिइनेछ । मलाई पूर्ण विश्वास छ कि तल्लो अदालतबाट जुन निर्णय आएको छ, त्यो उच्च अदालतमा बदलिनेछ । लालु जीको पक्षमा यो निर्णय आउनेछ ।’
अदालतले जगदिश शर्मासमेत ३८ दोषीलाई मंगलबार (१५ फेब्रुअरी) नै सजाय सुनाइएको थियो । उनीहरुलाई तीन वर्षसम्मको सजाय सुनाइएको थियो । उनीहरुले तुरुन्त जमानत पाएका थिए ।
सन् २०१७ मा पशुपालन घोटालाका अन्य मामिलामा सजाय पाएपछि लालु यादव कूल ८ महिना जेलमा बसेका थिए र ३१ महिना अस्पतालमा बसे । उनी ८ महिना राँचीस्थित होटवारको बिरसा मुन्डा जेलमा बसे ।
यसअघि १५ फेब्रुअरीमा दोषी ठहर गरेपछि लालु यादवलाई राँचीको बिरसा मुन्डा सेन्ट्रल जेल पठाइयो र त्यहँँबाट उनी रिम्स अस्पताल ल्याइए । उनीहरुलाई त्यहाँको पेइङ वार्डमा भर्ना गरियो ताकि डाक्टरको टिमले उनको स्वास्थ्यको निगरानी गर्न सकून् ।
लालु यादवका वकिलले उनको खराब स्वास्थ्यलाई मध्यनजर गर्दै सीबीआई अदालतमा आवेदन दिएका थिए जसलाई अदालतले स्वीकार गरेको थियो ।
विशेष लाके अभियोजक बीएमपी सिंहका अनुसार यो मामिलामा सीबीआईले ५७५ साक्षी र १५ ट्रकलाई प्रमाणको रुपमा अदालतमा पेश गरे । बचाउ पक्षमा २५ जनाले मात्रै बयान दिए ।

