एमसीसी सम्झौताको विरोधमा उत्रिएका आन्दोलनकारीमाथि प्रहरी दमनको माओवादी केन्द्रले गर्यो निन्दा

काठमाडौं । पूर्वसभामुखसमेत रहेका माओवादी केन्द्रका नेता कृष्णबहादुर महराले राष्ट्रिय सहमति नगरी र सत्तारूढ दलभित्रै एकरूपता नहुँदानहुँदै जबरजस्ती संसद्मा एमसीसी पेस भएकोप्रति आफूहरूको गम्भीर आपत्ति रहेको बताएका छन्।

आइतबार साँझ एक विज्ञप्तिमार्फत नेता महराले भनेका छन,- ‘देशको स्वाधीनता र राष्ट्रियतामा नै प्रश्न उठ्न सक्ने विषयमा दलहरूबीच राष्ट्रिय सहमति नगरिकन र सत्तारूढ दलभित्रै एकरुपता नहुँदा नहुँदै जबरजस्ती प्रतिनिधिसभामा पेस भएको घटनाप्रति हाम्रो गम्भीर आपत्ति छ।’सत्तारूढ गठबन्धनमा हाम्रो पार्टीको तर्फबाट स्पष्ट रूपमा संसद्मा पेस नगर्न आग्रह गर्दा पनि सरकारले जबरजस्ती एमसीसी सम्झौता अघि बढाउन खोजेपछि प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिमा संसदीय दलको तर्फबाट लिखित असहमति जाहेर गरिएको छ महराले उल्लेख गरेका छन् ।
उनले एमसीसी सम्झौताको विरोधमा उत्रिएका आन्दोलनकारीहरूमाथि प्रहरीले गरेको हस्तक्षेपको निन्दा गरेका छन् । उनले घाइतेहरूको उपचारको व्यवस्था गर्न तथा उपचारमा लाग्ने सबै खर्च बेहोर्न पनि सरकारसँग माग गरेका छन् ।

