थापालाई अध्यक्ष बनाउने निर्णय राप्रपा नेपालका नेताहरुद्वारा अस्वीकार,अदालतमा दायर भयो मुद्दा

काठमाडाैं।राप्रपा नेपालले पार्टी केन्द्रीय समितिको बैठक नराखी गणतन्त्रबादी कमल थापालाई अध्यक्ष बनाउने निर्णय गरेको भन्दै अध्यक्ष लाक्पा तामाङलाई साधारण सदस्य समेत नरहने गरि कारबाही गरेको छ।

पार्टीको वैचारिक दृष्टिकोण संवैधानिक राजसंस्था र हिन्दू राष्ट्र हुंदा हुँदै अध्यक्ष तामाङले केन्द्रीय कार्यसमितिको बैठक नराखी कमल थापालाई अध्यक्ष बनाएर पार्टीले गणतन्त्रको सिद्धान्त अवलम्बन गरेको अभिव्यक्ति दिनु आश्चर्यजनक र पार्टी हित तथा बिधान बिपरित रहेको भन्दै उनलाई पार्टीबाट निष्काशन गरेको हो।
पार्टीले शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा उपाध्यक्ष तेजराज भुजेलले आफ्नो अध्यक्षतामा शुक्रवार बसेको पार्टीको आकस्मिक केन्द्रीय समितिको बैठकले अध्यक्ष तामाङलाई कारबाही गरेको जानकारी दिए ।
पार्टीको २१ सदस्यीय कार्यसमितिमध्ये १५ सदस्यले कारबाही गर्ने निर्णय गरेको हो । पछिल्लो समय पार्टीमा देखापरेको विवाद समाधानका लागि पार्टीका नेता प्रदीपविक्रम राणालाई कार्यसमितिको संयोजक बनाउने निर्णय गरेको जानकारी दिइएको छ ।
संयोजक राणाले यस घटनाप्रति कानूनी उपचार खोज्ने क्रममा निर्वाचन आयोगमा निवेदनका साथै पाटनस्थित उच्च अदालतमा कार्यसमितिका १५ सदस्यले मुद्दा दर्ता गरिसकेको जानकारी दिए ।

