एमसीसीबिरुद्द प्रदर्शन जारी,नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त

काठमाडौं । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदमा टेबल गर्न लागेको विरोधमा काठमाडौंमा बुधबार प्रदर्शन भएको छ ।

एमसीसीको विरोधमा रहेका विभिन्न राजनीतिक दलले संघीय संसद भवन नयाँ बानेश्वर वरपर प्रदर्शनलाई केन्द्रित गरेका छन् ।
माइतीघरदेखि नाराजुलुससहित संघीय संसद भवनतर्फ आएका एमसीसी विरोधी प्रदर्शनकारीलाई प्रहरीले संघीय संसद भवनभन्दा २०० मिटर पश्चिम एभरेस्ट होटल नजिक रोकेको छ । तर उनीहरुले निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ आउन खोजेपछि प्रहरीसँग झडप भएको छ ।
प्रतिनिधिसभामा एमसीसी पेश हुने तयारी गरे पछि सत्तारुढ दलसहित विभिन्न समूहहरु बानेश्वर पुगेका थिए। त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबिच कयौं पटक झडप भएको थियो।
दलहरुबीच सहमति नभएपछि प्रतिनिधिसभामा एमसीसी पेश नभएपनि संसद भवन बाहिर प्रदर्शन जारी छ। नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका पार्टीका कार्यकर्ताहरुले बानेश्वरमा विरोध प्रदर्शन गरेका हुन्। माओवादीका कार्यकर्ताहरु बानेश्वरबाट गएपछि राप्रपाका कार्यकर्ताहरु बानेश्वरमा पुगेका थिए।
भिडलाई एभरेष्ट होटलसम्म लगेको प्रहरीको घेरा फेरि तोडेर प्रदर्शनकारीहरु बानेश्वर चोकसम्म पुगेका छन्। प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास, पानीको फोहोरा र लाठी प्रयोग गरेको छ । झडपका क्रममा केही प्रदर्शनकारी घाइते पनि भएका छन् ।

