कर्णाली प्रदेशमन्त्री लामाको नियुक्ति खारेज गर्न माग गर्दै उच्च अदालतमा मुद्दा  दायर



काठमाडौं।कर्णाली प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री छिरिङ डम्डोल लामा (कार्चेन लामा)लाई पदबाट हटाउनुपर्ने मागसहित मुद्दा दर्ता भएको छ।

सुर्खेतकी बिनीता बोगटीले लामालाई मन्त्री पदबाट हटाउनुपर्ने मागदाबीसहित उच्च अदालत सुर्खेतमा रिट दायर गरेकी हुन्।

नैतिक पतन देखिने फौजदारी कसूर (मूर्ति चोरीको अभियोग)मा दोषी ठहर भइ सजाय समेत पाएका व्यक्तिलाई मन्त्रीजस्तो पदमा नियुक्त गरिएको भन्दै उनको नियुक्ति खारेज हुनुपर्ने रिटमा जिकिर गरिएको छ।

प्रदेश सभा सदस्यको उम्मेदवार हुन समेत नपाउने व्यक्तिलाई मन्त्री नियुक्त गरिनु लोकतन्त्र तथा कानुनी राज्यको उपहास भएको समेत रिटमा जिकिर गरिएको छ।

संविधानको धारा २८३ मा संवैधानिक अंग र निकायका पदमा नियुक्त गर्दा समावेशी सिद्धान्त बमोजिम गरिने व्यवस्था भएपनि कर्णाली प्रदेशमा मन्त्रिपरिषद् विस्तार गर्दा समावेशी सिद्धान्तको पालना नभएको रिटमा उल्लेख छ। समावेशी सिद्धान्तअनुरुप मन्त्रिपरिषद्‌मा महिलाको प्रतिनिधित्व हुनुपर्ने माग रिटमा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्