महाअभियोग अनुचित र लोकतन्त्रका लागि खतरा : एमाले



काठमाडौं। प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानन्याधीश चोलेन्द्र शमशेर जवराविरुद्ध सत्ता गठबन्धनले दर्ता गरेको महाभियोगको प्रस्तावको प्रतिवाद गर्ने निर्णय गरेको छ। आइतबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको एमालेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो।

महासचिव श‌ंकर पोखरेलले प्रधानन्यायाधीश विरुद्ध आएको महाभियोग षड्यन्त्रपूर्ण भएको बताए उनले यो काम अनुचित र लोकतन्त्रका लागि खतरा देखिएको बताए।

सत्ता गठबन्धनका तीन दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदहरुले राणाविरुद्ध संसद सचिवालयमा महाभियोग दर्ता गरेपछि एमालेको आपतकालिन सचिवालय बैठक बसेको हो।एमालेले महाअभियोगले घोषित स्थानीय तहको चुनावलाई प्रभावित पार्न सक्ने आशंकासमेत व्यक्त गरेको छ। सत्ता पक्ष र प्रतिपक्षबीचको सुधार हुँदै गएको सम्बन्धलाई समेत आइतबारको घटनाले बिगार्ने एमालेले ठहर गरेको छ।

‘यसलाई हामीले चुनाव भाड्ने षड्यन्त्रका रुपमा समेत लिएका छौँ,’ पोखरेलले अगाडि भने, ‘सत्ता र प्रतिपक्षको सुधार हुँदै गएको सम्बन्धलाई समेत यसले बिगार्न खोजेको छ।’

बैठकले सत्ता गठबन्धनले न्यायपालिकालाई हस्तक्षेपका साथ चलाउन खोजेको आरोपसमेत लगाएको छ। विचाराधीन मुद्दालाई प्रभावित पार्ने र अदालतलाई कार्यपालिकाको हस्तक्षेपबाट चलाउन खोजेको घटनाका रुपमा लिनुपर्ने एमालेको बुझाइ छ। महासचिव पोखरेलले महाअभियोगको प्रतिवाद गर्ने जनाउ दिँदै भने, ‘यो नियन्त्रित अस्थिरितता पैदा गर्ने खालका रुपमा हामीले लिएका छौँ।’

आइतबार कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका ९८ जना सांसदले प्रधानन्यायाधीश राणामाथि महाअभियोग दर्ता गरेको छ। २१ वटा आधार प्रस्तुत गर्दै संसदमा दर्ता भएको महाअभियोगसँग राणा निलम्बनमा परेका छन्।

प्रतिक्रिया दिनुहोस्