केन्द्रीय महाधिवेशन सम्पन्न भएको तीन महिनापछि १६ वटा जिल्लामा फागुन १३ गते कांग्रेस अधिबेशन हुंदै

काठमाडौं।स्थानीय निर्वाचनको मिति घोषणा भइसकेकोले छिटोभन्दा छिटो तल्लो तहको बाँकी अधिवेशन सम्पन्न गर्नुपर्ने तीब्र दबाबमा रहेको सत्तारुढ दल नेपाली कांग्रेसले आन्तरिक विवादका कारण सम्पन्न हुन नसकेका जिल्लाहरुमा फागुन १३ गते अधिबेशन गर्ने भएको छ।

आन्तरिक विवादका कारण सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम लगायतका १६ जिल्लामा अधिबेशन हुन सकेको छैन।
कांग्रेस केन्द्रीय निर्वाचन समितिको निर्णयअनुसार उल्लेखित १६ जिल्लाअन्तर्गत प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट निर्वाचित हुने महासमिति सदस्यको निर्वाचन हुन बाँकी भएमा फागुन १३ गते नै सम्बन्धित क्षेत्रको महाधिवेशन प्रतिनिधिमध्येबाट महासमिति सदस्यको निर्वाचनसमेत सम्पन्न गर्ने निर्णय भएको छ ।
निर्वाचन समितिले जिल्ला कार्यसमितिको निर्वाचन सम्पन्न भइसकेका तर कुनै वडा, पालिका, प्रदेशसभा क्षेत्र र महासमिति सदस्यको निर्वाचन हुन बाँकी रहेका पद र तहको निर्वाचन तोकिएको मापदण्डभित्र रही २०७८ फाल्गुण १० गतेभित्र सम्पन्न गर्नका लागि सम्बन्धित जिल्ला कार्यसमितिलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय पनि गरेको समितिका सचिव केशव रिजालले जानकारी दिनुभएको छ ।
निर्वाचन समितिले महोत्तरी जिल्ला क्षेत्र नं. ३ को प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति र सो क्षेत्रबाट निर्वाचित हुने महाधिवेशन प्रतिनिधिको निर्वाचन हुन बाँकी रहेकोमा, उक्त निर्वाचन २०७८ फाल्गुण १० गतेभित्र सम्पन्न गर्ने निर्णय गरेको छ ।
यसअघि पनि बाँकी अघिवेशन सम्पन्न गर्न दुई पटक मिति तोकिसकिएको थियो । एकपटक राष्ट्रियसभा सदस्यको निर्वाचनलाई देखाएर र अर्को पटक कोरोना महामारीलाई देखाएर जिल्ला अधिवेशन स्थगित गरिएको थियो ।कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न भएर केन्द्रीय नेतृत्व चयन भएको भने तीन महिना बितिसकेको छ।

