सरकार- बिप्लव नेकपाबीच छलफल ,प्रकाण्डले बुझाए जेलमा रहेका कार्यकर्ताहरुको विवरण

काठमाडौं।तत्कालीन केपी ओली नेतृत्वको सरकारसंग भएको तीनबुंदे सहमति कार्यान्वयनका बिषयमा आज सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी(नेकपा)बीच छलफल भएको छ।

गृह मन्त्रालयमा शनिबार भएको छलफलमा २०७७ फागुन २० गते नेपाल सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति कार्यान्वयनमा अहिलेसम्म भएका प्रगति र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए।छलफलमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दीलेन्द्रप्रसाद बडू, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, कानुनसचिव उदयराज सापकोटा तथा नेकपाका तर्फबाट खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहभागीता रहेको उनले बताए।
मन्त्रालयका प्रवक्ता पोखरेलले फिर्ता लिन मिल्ने मुद्दा छिटो फिर्ता गर्ने विषयमा छलफल भएको जानकारी दिए। वार्तामा नेकपाका तर्फबाट प्रवक्ता प्रकाण्डलेले विभिन्न आन्दोलनका क्रममा पार्टी कार्याकर्तालाई लगाइएका मुद्दा र जेलमा रहेका कार्यकर्ताको विवरण सरकारलाई बुझाएको पोखरेलले बताए।

