वाईसीएल सोलुखुम्बुको नेतृत्व परिवर्तनको बिषय तीब्र विवादमा



सोलुखुम्बु ।नेकपा माओवादी केन्द्र निकट योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) सोलुखुम्बुको नेतृत्व परिवर्तनको बिषय बिबादित बनेको छ।

वाईसीएल नेपाल प्रदेश नं १ कमिटीले जिल्लालाई बेवास्ता गर्दै एक पक्षीय रूपमा अध्यक्षमा रस्बिन मगर र सचिबमा उपेन्द्र नाछिरिङ राईलाई जिम्मेवारी दिएपछि सो बिषय बिबादित बनेको हो।देउता बस्नेत ‘देव’ संयोजक रहेको यसअघिको जिल्ला कमिटी भंग गर्दै प्रदेश कमिटीको गत सोमबार बसेको बैठकले मगरलाई अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको थियो।

निर्णय सार्बजनिक भए लगत्तै वाईसीएलको सिंगो जिल्ला नेतृत्वले प्रदेश कमिटीको यो निर्णयप्रति असहमति प्रकट गर्दै तीब्र बिरोध जनाएको छ।नेतृत्व परिवर्तनको बिषय जिल्ला कमिटीको कुनै पनि मिटिङ तथा सामान्य छलफल पनि नभएको अवस्थामा नेकपा माओवादी केन्द्र सोलुखुम्बुको राजनीतिक भविष्यमा नै आंच आउने ढंगले यस्ता गतिविधि नगर्न चेतावनी दिंदै जिल्ला इन्चार्ज प्रल्हाद राई ‘प्रज्वल’ र अध्यक्ष देउता बस्नेत ‘देव’ ले बिज्ञपति नै जारी गरेका छन् ।बिज्ञप्तिमा यो निर्णयलाई गैर राजनीतिक कृयाकलापको संज्ञा दिंदै नेतृत्व परिवर्तनको यस्तो अपुष्ट खबर का पछि नलाग्न ८ वटै गाउँपालिका कमिटी र वडा कमिटीलाई निर्देशन दिइएको छ।

यसैगरी,जिल्ला कमिटीमा प्रतिनिधित्व गर्ने नेचासल्यान गाउँपालिकाका इन्चार्ज योधन राई,अध्यक्ष सुजन राई तथा अन्य जिल्ला कमिटी सदस्यहरु मनराज राई, प्रबिन राई,मोहन बस्नेत,देव राई र बेनी बहादुर खड्काले पनि संयुक्त बिज्ञप्ति प्रकाशित गर्दै जिल्ला कमिटीका कुनै पदाधिकारीहरुलाई थाहै नदिई प्रदेश कमिटीले नयाँ नेतृत्व चयन गरिएको बिषय आफुहरुका लागि मान्य नभएको स्पष्ट पारेका छन् ।

उता वाईसीएलको लिखुपिके गाउँपालिका कमिटीले पनि सम्बन्धित कमिटीमा छलफल नभइ माथिल्लो कमिटीबाट टीका लगाएर पठाएका पदाधिकारीलाई आफुहरुले नचिन्ने स्पष्ट पारेको छ।बिज्ञपति गाउँपालिका कमिटी अध्यक्ष कमल बहादुर बस्नेतले जारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्