माग पूरा नभए कमल थापाले नयाँ पार्टी खोल्ने



काठमाडौं।नेपाल प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापाले स्थानीय तहको चुनावको मिति घोषणा हुँदासम्म आफ्ना माग पूरा नभए अलग हुने चेतावनी दिएका छन् । आज आफूनिकट केन्द्रीय सदस्यहरूसँगको छलफलमा उनले आफूले अघि सारेका तीनवटा माग पूरा नभए अलग पार्टी दर्ता गर्ने चेतावनी दिएका हुन् ।

‘स्थानीय चुनावको मिति सरकारले घोषणा गर्नुअघि सैद्धान्तिक, संगठनात्मक र व्यवहारिक विषयमा उठाइएका प्रश्न निराकरण हुँदैन भने हामीले विकल्प खोज्न बाध्य हुनेछौँ,’ थापाले भने ।

उनले पार्टी दुर्घटनातर्फ गइरहेकाले अब यसको निकास खोज्ने समय आएको पनि बताए । ‘पार्टी दुर्घटनातर्फ उन्मुख हुँदै गइरहेको, कार्यकर्ताहरूमा विचलन देखापर्न लागिरहेको यही अवस्थामा स्थानीय तहको चुनाव आइरहेको, यो अवस्थामा अब हामीले यसको निकास नखोज्ने हो भने निरीह भएर लाचार भए यो सबै घटनाक्रमको साची भएर बस्न सकिन्न,’ थापाले भने, ‘यो पार्टी केही व्यक्ति विशेषको पार्टी मात्र होइन । यो पार्टीलाई अहिलेसम्मको अवस्थासम्म ल्याउन धेरै साथीहरूको रगत बगेको छ ।’

उनले माग पूरा भए आफू देशका कुना(कुनामा गएर एकताको लागि पहल गर्ने पनि बताए । अहिले थापा आफू निकटका नेताहरूसँग छलफल नै गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्