माओवादी केन्द्रले बोलायो केन्द्रीय समिति बैठक



काठमाडौं।नेकपा ९माओवादी केन्द्र०ले माघ २८-२९ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको छ। सांगठनिक राजनीतिक विषयलाई टुंगो लागाउन बैठक बोलाइएको माओवादी केन्द्रले जनाएको छ।

माओवादीको आठौँ राष्ट्रिय महाधिवेशनपछि पुस २५ गतेका लागि केन्द्रीय समिति बैठक बोलाएको थियो। तर, पार्टी अध्यक्ष प्रचण्ड कोरोना संक्रमित भएपछि बैठक बस्न सकेको थिएन। माओवादीको आठौँ महाधिवेशनले पदाधिकारी छनोट गर्ने जिम्मा केन्द्रीय समितिलाई दिएको थियो। महाधिवेशनपछि एकपटक बैठक बसे पनि पदाधिकारी छान्न सकेको छैन।

त्यसपछि माघ ८ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठक पनि कोरोना महामारीका कारण बस्न सकेको थिएन। पुस १९ गते बसेको माओवादीको केन्द्रीय समिति बैठकले पार्टी अध्यक्षमा प्रचण्डलाई निर्विरोध चयन गरेको थियो। माओवादीको विधानमा १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ। विधानअनुसार माओवादीले अब एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष निर्वाचित गर्न बाँकी छ।

बैठकले एमसिसीको विषयमा पनि निर्णय लिने जनाइएको छ। आइतबार प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले एमसिसीको विषय निर्वाचनपछि अगाडि बढाउन प्रस्ताव गरेका थिए।

प्रतिक्रिया दिनुहोस्