निर्धारित मितिमै स्थानीय तहको निर्बाचन गराउन एमालेले सरकारलाई दबाब दिने



प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले निर्धारित मितिमै स्थानीय तहको निर्वाचन गराउन सरकारलाई दबाब दिने भएको छ । स्थानीय तहको निर्वाचन निर्धारित मितिमा गराउनका निम्ति सरकारलाई दबाब दिन एमालेले देशव्यापी आन्दोलनको कार्यक्रम घोषणा गर्ने तयारी गरेको हो ।

सरकारले स्थानीय तहको निर्वाचन पछि सार्ने बहाना गरिरहेको निष्‍कर्ष निकाल्दै एमालेले सरकारविरुद्ध जनदबाब सिर्जना गर्न लागेको हो । एमालेले सरकारविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्न शनिबार ३ बजे जनवर्गीय संगठनको बैठक बोलाएको छ ।

आन्दोलनको तयारीको विषयमा छलफल गर्न एमालेले जनवर्गीय संगठनको बैठक भक्तपुरमा बोलाएको छ । एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार बैठकमा आन्दोलनको तयारीको विषयमा छलफल हुने छ ।

एमाले जनसंगठन इन्चार्ज भानुभक्त ढकालले निर्वाचनविरोधी सरकारविरुद्ध सशक्त आन्दोलन गर्ने बताएका छन् । उनले आन्दोलनमा पार्टीका २२ जनवर्गीय संगठनलाई परिचालन गर्ने तयारी गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्