स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल असोज २ गतेपछि मात्रै पूरा हुने नेपालको भनाइ
काठमाडौं।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले स्थानीय तहको निर्वाचन असोज २ गते अन्तिम चरणमा भएको र त्यसैलाई आधार मानेर त्यसको ६ महिना भित्र गर्न उपयुक्त हुने बताएका छन् ।

शनिबार राजधानीमा आयोजित पार्टी निकट निजामती कर्मचारी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल २०७९ साल असोज २ गते पछि मात्रै पूरा हुने भएकाले त्यसपछि मात्रै स्थानीय तहको निर्वाचनमा जाने व्यवस्था संविधानमा भएको दावी समेत गरेका छन।
स्थानीय तहको निर्वाचन बैशाखमै भएपनि सामना गर्न तयार रहेको बताउंदै उनले चुनावबाट आफूहरु नआत्तिएको बताए ।
एमाले अध्यक्ष केपी शर्मा ओली आगामी निर्वाचनसम्म सत्तारुढ गठबन्धन फुटाउन चर्को रुपमा लागि परेको उनको आरोप छ। उनले ओलीको प्रयास सफल हुन नदिने भन्दै आगामी चुनावसम्म सत्तारुढ गठबन्धन कायम रहने दाबी समेत गरे।
गठबन्धन टुटाउन सके हुन्थ्यो भन्ने खोजिरहेकाहरु पनि होलान्। त्यस मामलामा सबैभन्दा चर्को रुपमा केपी ओली आफै लागेका छन। अनेक खालको भ्रम दिएर, अनेक खालको पासाहरु फालेर उनले दाउपेचहरु दिइरहेका छन। यो कुनै दाउपेचले चल्नेवाला छैन,नेपालले भने।
नेपालले प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली कांग्रेसका नेताहरु सत्तारुढ गठबन्धनलाई कायमै राखेर निर्वाचनमा जान प्रतिवद्ध रहेको समेत बताए।

