खोप लगाइसकेका विद्यार्थीलाई भौतिक उपस्थितिमै पढाउन पाउनुपर्ने प्याब्सनको माग



काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले खोप लगाएका विद्यार्थीलाई भौतिक उपस्थितिमा माघ २३ पछि अध्यापन गर्न दिन सरकारसँग माग गरेको छ।

प्याब्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरीले बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई भेटेर यस्तो माग गरेको जानकारी दिए।

उनले खोप लगाइसकेका विद्यार्थीका हकमा स्कुलमा कक्षा सञ्चालन गर्न पाउनुपर्ने माग गरेको बताए।उनले भने, ‘कोभिड(१९ को खोप लगाइसकेकालाई धेरै जोखिम हुन्न, त्यसैले उनीहरूको हकमा कक्षामा नै पठनपाठन थाल्यौँ र खोप नपाएकाको हकमा परिस्थितिअनुसार ती कक्षा पनि खोल्दै जाऔँ भनी मन्त्रीज्यूसमक्ष भनेका छौँ।’

पाठ्यक्रमको विषयमा उनले भने, ‘अहिले अनलाइनबाट पनि सिकाइ जारी छ, यसरी आलोपालो प्रणालीबाट पढाउँदा कोर्समा समस्या हुन्न, समयमै पढाउन सकिन्छ।’भेटेर यस्तो माग गरेपछि शिक्षामन्त्री पौडेल सकारात्मक रहेको उनले जानकारी दिए।

‘मन्त्रीज्यूले २० गतेसम्म खोप कार्यक्रम सञ्चालन गर्छौँ, त्यस वेलासम्मको समय हेरेर निर्णय गर्छौँ, लामो समय विद्यालय बन्द हुँदैन भनेर भन्नु भएको छ,’ शिक्षामन्त्रीलाई उदृत गर्दै अध्यक्ष पुरीले भने।

सरकारले कोरोना संक्रमणदर तीव्र गतिमा बढेपछि पुस २७ गतेदेखि माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्