स्थानीय निर्बाचन बैशाखमै हुनुपर्ने कांग्रेस संस्थापन इतर पक्षको निष्कर्ष
काठमाडौं।नेपाली कांग्रेसको संस्थापन इतर समूहले स्थानीय तहको निर्वाचन वैशाखमै हुनुपर्ने पनि निष्कर्ष निकालेको छ ।

सोमबार भएको संस्थापन इतर समूहको भर्चुअल बैठकले निर्वाचनको मितिका विषयमा देउवाले पार्टीमा कुनै छलफल नगरेको भन्दै नेताहरुले आक्रोश समेत व्यक्त गरेको नेता अर्जुन नरसिंह केसीले बताए।
भर्चुअल बैठकमा राष्ट्रिय राजनीतिमा काँग्रेसलाई समेत असर गर्ने स्थानीय तहको निर्वाचनका बारेमा गठबन्धनमा निर्णयमा पुग्नुअघि सभापति देउवाले पार्टीमा छलफल गर्नुपर्ने आवाज उठेको उनको भनाइ छ।
निर्वाचन जस्तो विषयमा सभापतिले पार्टीमा छलफल गर्नुपर्छ । तर यहाँ त पार्टीमा छलफल नै नगरि गठबन्धनका नेताहरुसँग छलफल गरेर निर्णयमा पुग्ने काम भएको छ, उनले भने । कोइराला पक्षको बैठकमा तीनै तहको निर्वाचनमा काँग्रेस एक्लै चुनावी मैदानमा उत्रिनु पर्नेबारे छलफल भएको बताइएको छ ।
गठबन्धनको आवश्यकता यसअघि प्रतिगमन विरुद्धमा रहेपनि नयाँ जनादेशमा जानका लागि नभएकोबारे छलफल भएको नेताहरुले बताएका छन् । बैठकमा शेखर कोइरालासहित महामन्त्री गगन थापा, नेताहरु डा। मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, अर्जुननरसिंह केसी, डा। रामशरण महतलगायतका नेताको सहभागिता रहेको थियो ।

