रहेनन् सोलुखुम्बुका लोकप्रिय राजनीतिज्ञ सोनामछिरिङ शेर्पा



सोलुखुम्बु ।बरिष्ठ राजनीतिज्ञ एबम् समाजसेवी सोनाम छिरिङ शेर्पाको निधन भएको छ।

७१ बर्षीय शेर्पाको स्वासप्रश्वास सम्बन्धी रोगका कारण आज बिहान ९ बजेतिर काठमाडौंको रामहिटीस्थित आफ्नै निवासमा निधन भएको वहाँका आफन्त तेन्जिङ शेर्पाले जानकारी दिए।

विभिन्न राजनीतिक दलको नेतृत्वमा रहेर लामो समय राजनीति र समाजसेवामा सक्रिय जीवन ब्यतित गर्नुभएका शेर्पा शेर्पा सेवा केन्द्रका संस्थापक महासचिव समेत हुनुहुन्थ्यो।सोलुखुम्बुका स्थापित र अग्रणी राजनीतिज्ञ शेर्पा जिल्लामा जीवन पर्यन्त लोकप्रिय रहेपनि संधै सत्ता बाहिर रहेका कारण गणीतिय रूपमा भने संधै पराजित हुनुपरेको वहाँका निकटस्थहरुले बताउंदै आएका छन् ।

नेपाली कांग्रेसबाट राजनीतिक यात्रा प्रारम्भ गर्नुभएका शेर्पा बर्तमान प्रधानमन्त्री समेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा नेपाल विद्यार्थी संघको सभापति हुंदा सो संगठनको केन्द्रीय सदस्य समेत हुनुभएको थियो।पछि पन्चायती राजनीतिमा सक्रिय शेर्पा ०५४ सालमा राप्रपाको नेतृत्वमा गठन भएको संयुक्त सरकारका प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्दको राजनीतिक सल्लाहकार हुनुहुन्थ्यो ।श्वासप्रश्वास सम्बन्धि समस्याका कारण पछिल्लो दुई बर्षयता देखि राजनीतिक तथा सामाजिक जीवनबाट निष्क्रिय रहनुभएका शेर्पा सोमबार बिहानबाट संधैका लागि यो धर्तीबाट बिदा हुनुभएको छ।जिल्लाको तत्कालीन तामाखानी गाउँपन्चायतमा जन्मनुभएका स्वर्गीय शेर्पाका श्रीमती,तीन छोरा र एक छोरी हुनुहुन्छ ।

रहस्यखबर स्वर्गीय शेर्पाको दिवंगत आत्माको चीर शान्तिको कामनाका साथ हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भनी भगवानसंग प्रार्थना गर्दछ।

 

प्रतिक्रिया दिनुहोस्