सिंहदरबार प्रवेशमा कडाइ,सबै किसिमका पास रद्द
काठमाडौं । गृह मन्त्रालयले कोभिडको ओमिक्रोन भेरियन्टको संक्रमणको जोखिमलाई मध्येनजर गरेर सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । मन्त्रालयले एक सूचना जारी गरी विभिन्न मन्त्रालयबाट यसअघि जारी भएका पास खारेज गरेर वैकल्पिक व्यवस्था मिलाएको जानकारी गराएको हो ।

नयाँ व्यवस्थाअनुसार अब नयाँ स्थायी, अस्थायी पास तथा अस्थायी परिचयपत्र जारी गर्नुपरेमा आवश्यकता हेरी सम्बन्धित निकायको सिफारिसमा गृह मन्त्रालयको पूर्वसहमति लिएर मात्र जारी हुने छ ।
सरसफाइसँग सम्बन्धित व्यक्तिहरूको हकमा भने पूर्व जारी भएका पास तथा अस्थायी परिचयपत्रबाट नै प्रवेश दिइने छ ।
पत्रकारको हकमा भने सूचना विभागबाट जारी भएको परिचयपत्रकै आधारमा प्रवेश दिने गृहले जनाएको छ ।
गृहले सिंहदरबारभित्र सञ्चालन भएका चमेना गृहहरूको हकमा पुस २९ गते एक दिनका लागि यस पूर्व जारी भएका पास, अस्थायी परिचयपत्रहरूबाट नै प्रवेश दिने र पुस ३० गतेदेखि नायँ व्यवस्था लागु हुने बताएको छ ।
गृहमन्त्रालयको सूचनामा गृह मन्त्रालयबाट सहमति प्राप्त गर्नका लागि इमेल, फोन नम्बर र सम्पर्क व्यक्तिहरूलाई सम्पर्क गरी सहमति प्राप्त गर्न सकिने बताएको छ ।

