लिपुलेकमा सडक लगायतका संरचना निर्माण तत्काल रोक्न भारतलाई एमालेको आग्रह



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले

नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाभिमानमाथि आँच पुर्‍याउने खालका गतिविधि तत्काल बन्द गर्न भारतलाई आग्रह गरेको छ।

लिपुलेकमा भारतीय पक्षले सडक निर्माण गरिरहेको विषयप्रति आपत्ति जनाउंदै एमालेले बिज्ञप्तिमार्फत त्यस्तो आग्रह गरेको हो ।एमाले स्थायी कमिटीका सदस्य एवं विदेश विभाग प्रमुख राजन भट्टराईले मंगलबार एक विज्ञप्ति जारी गर्दै लिपुलेक, लिम्पियाधुरामा सडकलगायतका संरचना निर्माणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘सडकलगायत संरचना निर्माण रोकिनुपर्छ, वार्ताको माध्यमबाट यस विषयलाई अविलम्ब टुंग्याइनुपर्छ र वार्ताबाट समाधान नखोजिँदासम्म राज्यस्तरबाट कुनै पनि संरचना बनाइनुहुन्न भन्ने नेकपा एमालेको अविचलित मान्यता छ,’ भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र नेपालका अभिन्न भूभागका रूपमा रहेका र गत वर्ष नै राजनीतिक प्रशासनिक नक्सा एवं संविधान संशोधनमार्फत् नेपालले यस विषयमा आफ्नो कानुनी एवं राजनीतिक अडान स्पष्ट पारिसकेको तथ्य सर्वविदितै रहेको उनले जनाएका छन् ।

राष्ट्रियतासँग सम्बन्धित यस्तो गम्भीर विषयमा वर्तमान सरकारले सन्देहास्पद मौनता साँधेको भन्दै विज्ञप्तिमा सरकारको मौनताले अनेकौं प्रश्न जन्माएको उल्लेख छ ।

‘हाम्रो पार्टी यस विषयमा भारतसँग अविलम्ब गम्भीर संवाद गर्न, सबैखाले बलमिच्याइँ रोक्न लगाउन र नेपाली भूभागमा नेपालको व्यावहारिक स्वामित्व स्थापनाका लागि सार्थक पहल गर्न सरकारसँग माग गर्दछ,’ एमालेले सरकारसँग माग गरेको छ ।

भारतीय पक्षले लिपुलेकमा सडक विस्तार गरेको प्रति विभिन्न राजनीतिक दलले विरोध गर्दै आए पनि सरकार भने यस विषयमा किन मौन छ भन्दै उनले प्रश्नसमेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्