माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा सम्पूर्ण भेटघाट बन्द



काठमाडौं। नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयका कर्मचारीहरूलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्पूर्ण भेटघाट बन्न गरेका छन् । प्रचण्डका स्वकीय सचिवालयले आज एक सूचना जारी गर्दै स्वास्थ्य सतर्कताको कमीका कारण सम्पूर्ण भेटघाटको काममा रोक लागाएको बताएको छ । ‘राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमीका कारण काठमाडौंलगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीको समेत सुझाबलाई मध्यनजर गर्दै विगत तीनदिन यतादेखि भौतिक रूपमा भेटेरै भइरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई आजैका दिनदेखि रोकेको कुरा जानकारी गराउदछौं’, सचिवालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । केन्द्रीय कार्यालयमा समेत कोरोना संक्रमण देखिएको जानकारी दिँदै प्रचण्डको सचिवालयले कार्यालयमा हुने भीडभाडमा पनि उच्च स्वास्थ्य सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ । केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालका अनुसार क्यान्टिनमा तीन जनालाई संक्रमण पुष्टि भएको छ । त्यस्तै कार्यालयमा लेखा प्रमुख राजन पराजुली र कार्यालय सचिव डोरप्रसाद उपाध्यायलाई संक्रमण पुष्टि भएको ढकालले जानकारी दिए । यसैगरी सुरक्षातर्फका साजन थापालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्