सोलु एमालेको सातौं अधिबेशनः बर्तमान पदाधिकारीले नै निरन्तरता पाउने संकेत



सोलुखुम्बु । नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुको सातौ महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ।

जिल्लाका आठवटा स्थानीय तहका ५२ वटै वडाबाट प्रतिनिधि चयन भएसंगै प्रतिनिधिहरु सदरमुकाम सल्लेरी आउने क्रम सुरु भएको सातौं अधिबेशन आयोजक समिति अन्तर्गत गठित प्रचार प्रसार उपसमितिका सदस्य गोपाल घिमिरेले जानकारी दिए।अधिबेशनमा झण्डै पांच सयको हाराहारीमा प्रतिनिधि र झण्डै सय जना पर्यवेक्षक सहभागी हुने बताईएको छ।

जिल्लाका सबै वडाबाट प्राप्त प्रतिनिधिहरुको नाम र संख्या सम्बन्धित स्थानीय तहले रुजु गरी जिल्ला संगठन बिभागमा पठाईसकेका छन् ।जिल्लामा प्राप्त बिवरण अनुसार सबैभन्दा बढी प्रतिनिधि सोलु दुधकुण्ड नगरपालिकाबाट सहभागी हुने घिमिरेले रहस्यखबरलाई बताए ।घिमिरेका अनुसार सोलुदुधकुण्ड नगरपालिकाबाट १०५ जना प्रतिनिधिहरु सहभागी हुंदैछन।यो संख्या सातौं अधिबेशन आयोजक कमिटीका सदस्य ,सम्बन्धित स्थानीय पार्टी कमिटीले मनोनीत गर्ने र गैरभूगोलबाट आउने प्रतिनिधि बाहेकको भएको उनले बताए।

यस्तै गरी माप्य दुधकोशीबाट ७९, नेचासल्यानबाट ६५,सोताङबाट ६३, थुलुङ दुधकोशीबाट ६२ खुम्बु पासाङल्हामूबाट ४३,महाकुलुङबाट ३५ र लिखुपिकेबाट २० जना प्रतिनिधिहरु चयन भएका छन्।यो संगै एमाले सातौं अधिबेशनको उद्घाटन र यसले गर्ने निर्णयतर्फ सम्पूर्ण जिल्लाका राजनीतिक दल र नागरिकहरुको ध्यान केन्द्रित हुन थालेको छ।

मुख्य गरेर अधिबेशनले चयन गर्ने नेतृत्वका सन्दर्भमा पार्टी पंक्तिभित्र खासै मतभिन्नता देखिएको छैन।जिल्ला कमिटीमा यस अघि रहेको जम्मा संख्या झन्डै आधाभन्दा बढी सदस्यहरुको कटौती गर्नका लागि निर्बाचन भएपनि पदाधिकारीमा बर्तमान नेतृत्वले नै निरन्तरता पाउने अनुमान गरिएको छ।कतिपय जिल्ला नेताहरुले कतिपय पदमा आकांक्षा राखे पनि ती पदमा उनीहरले औपचारिक रुपमा उम्मेदवारी घोषणा नगरेका कारण पनि यसअघिकै तदर्थ समितिमा रहेका पदाधिकारीहरुले निरन्तरता पाउने अड्कलबाजी धेरैको छ।

छैटौं जिल्ला अधिबेशनबाट अध्यक्षमा निर्बाचित अध्यक्ष मानबीर राईले राजीखुशी साथ नेतृत्व तत्कालीन उपाध्यक्ष डुफकुमार बास्तोलालाई सुम्पिए यता सोलुखुम्बु जिल्ला कमिटी तदर्थ रूपमा चलिरहेको छ।सो कमिटीको उपाध्यक्षमा हर्कबहादुर राई,सचिबमा आशकुमार राई ुशिशिरु र सहसचिव मा रामकाजी श्रेष्ठ रहेका छन् ।तत्कालीन नेकपा एमाले र एकता प्रक्रियाबाट आएकाहरुको फ्युजनबाट बनेको तदर्थ कमिटीका पदाधिकारीहरुले एक बर्ष पनि जिम्मेवारी सम्हाल्न पाएका छैनन् ।त्यस कारण पनि अर्को एक कार्यकाल उनीहरूलाई निरन्तरता दिनु न्यायसंगत हुने अधिबेशन आयोजक कमिटी सदस्य पुण्यप्रसाद दाहालको भनाई छ। यदि आकांक्षी साथीहरू कोहि भए उनीहरूलाई उपयुक्त जिम्मेवारी दिएर भएपनि बर्तमान पदाधिकारीलाई नै निरन्तरता दिनुपर्ने दाहालको भनाइ छ।

केन्द्रदेखि वडा तहसम्मको नेतृत्व चयन पनि सहमतिमै भएकाले जिल्ला कमिटीको नेतृत्व पनि सहमतिमै चयन हुने राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटीका अध्यक्षसमेत रहेका अधिबेशन आयोजक कमिटी सदस्य प्रवेश किरांतीले बताए। सकेसम्म सर्बसम्मत रुपमै नेतृत्व चयन गर्न केन्द्रले समेत निर्देशन दिएको अवस्थामा नेतृत्व चयन गर्दा मत बिभाजन गर्नु उपयुक्त नहुने धारणा उनले राखे ।एमाले सोलुखुम्बु जिल्ला अधिबेशन यही शुक्रबारबाट जिल्ला सदरमुकाम सल्लेरीमा सुरु हुंदैछ।

प्रतिक्रिया दिनुहोस्