नेपाली पोशाक हरेक नेपालीको पहिचान : मन्त्री आले
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री प्रेमबहादुर आलेले अब बस्ने क्याविनेटबाट राष्ट्रिय पोशाकको आधिकारिकता घोषणा गर्न आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्।

राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान, नेपालले राष्ट्रिय पोशाक दिवसको अवसर पारेर शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री आलेले अझै पनि राष्ट्रिय पोशाकको आधिकारिकता घोषणा राज्यबाट नभएकोमा खिन्नता लागेको उल्लेख गर्दै अब छिट्टै बस्ने क्याविनेटबाट निर्णय गराउन आफू लागिपर्ने आश्वासन दिए।
उनले त्यसका लागि आवश्यक तयारी गरेर आउन सो प्रतिष्ठानलाई आग्रह पनि गरे। मन्त्री आलेले राष्ट्रिय पोशाक दिवसको अवसरमा दिइएको सन्देशसहित आफूले प्रधानमन्त्री शेरबहादुर देउवासँग राष्ट्रिय पोशाकलाई आधिकारिकता प्रदान गराउन अनुरोध गर्ने बताए।
उनले भने, ‘हामीले अहिलेसम्म राष्ट्रिय पोशाक मात्रै मनाइराख्ने हो कि त्यसलाई कार्यान्वयनमा ल्याउने होरु यो विषयमा मैले अध्यक्षज्यूलाई भनेँ तपाईंहरु पूरा तयारीको साथ आउनुहोस्। मलाई लाग्छ, आज पौष १७ गते। यो कार्यक्रम मनाइरहँदा माफ गर्नुहोला, तपाईंहरुले अलि अगाडि एक, डेढ महिना अगाडि नै आएर यो विषयमा बृहत छलफल गरेर सम्माननीय प्रधानमन्त्रीदेखि लिएर विभिन्न मन्त्रालयका मन्त्रीज्यूहरुसँग समन्वय गरेर हामीले यही १७ गते आज क्याविनेटबाट पास गराएर मनाउन पाएको भए अझै भव्य र सभ्य हुन्थ्यो भन्ने मलाई लाग्दछ। यसमा हामी चुकेका छौँ। तर छिट्टै म यही मञ्चबाट तपाईंहरुलाई आग्रह गर्न चाहन्छु। छिटोभन्दा छिटो कृपया, तपाईंहरुले तयारीका साथ आउनुहोला। आज भएको कार्यक्रमको सन्देश पनि म सम्माननीय प्रधानमन्त्रीज्यूलाई सुनाउने छु। र तपाईंहरु पूरा तयारीका साथ आउनुहोस्। म मेरो मन्त्रालयको तर्फबाट, मेरो तर्फबाट यसलाई आधिकारिता दिनका लागि क्याविनेटमा यो फाइल लग्नेछु भन्ने कुरा म तपाईंहरुलाई विश्वस्त बनाउन चाहन्छु।’
मन्त्री आलेले नेपाली पोशाक हरेक नेपालीको पहिचान भएको बताए। कार्यक्रममा बोल्दै संस्कृतिविद् सत्यमोहन जोशीले राष्ट्रिय पोशाक नेपालीहरुको राष्ट्रिय गौरव भएको बताए। उनले राष्ट्रिय पोशाकको कुरा गर्दा जातीय पोशाकको महत्व कम नहुने पनि स्मरण गराए।
कार्यक्रममा नेपाली भाषा, संस्कृति र पोशाकको प्रवर्द्धनमा योगदान पुर्याएकाहरुलाई सम्मान पनि गरिएको थियो।

