नेपाली कांग्रेसको चौधौं महाधिवेशन आजबाट सुरु हुंदै,उद्घाटन दिउँसो १ बजे
काठमाडौं। सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ । पार्टी स्थापनाको ७५ वर्षपछि हुन लागेको महाधिवेशनको उद्घाटन दिउँसो १ बजे हुने सो पार्टीले जनाएको छ।महाधिवेशनका क्रममा हुने निर्बाचनले कांग्रेसको आगामी नेतृत्व चयन गर्नेछ ।

महाधिवेशन विधानमा निर्धारित समयभन्दा झण्डै दुई वर्षपछि हुन लागेको हो । चार बर्से कार्यकालका लागि निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको समितिको कार्यकाल २०७६ फागुनमै सकिएको थियो ।
तर, महाधिवेशन भएन । विशेष परिस्थितिमा विधानतस् थप गर्न मिल्ने एक बर्से सुविधाको प्रयोग र संविधानअनुसार प्राप्त गर्न सकिने ६ महिने सुविधा प्रयोग गर्दै कांग्रेस महाधिवेशनमा होमिएको हो । यही अवधिको अन्त्यतिर कांग्रेसले वडा तहको अधिवेशन थालेर महाधिवेशनको प्रक्रिया अघि बढाएको थियो ।१६ जिल्ला र प्रदेश २ को अधिवेशनबिनै कांग्रेसको महाधिवेशनमा सकसपूर्ण ढंगले होमिएको हो ।
यो महाधिवेशनबाट निर्वाचित हुने सभापतिलाई १९ जना सदस्यका लागि आगामी माघमा राष्ट्रियसभा निर्वाचन, वैशाखमा स्थानीय तह र त्यसपछि प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पार्टीलाई विजयी दिलाउने प्रमुख दायित्व छ ।
महाधिवेशनको उद्घाटन सत्र भने भृकुटीमण्डपमा हुँदैछ । त्यहाँ ४० लाख रुपैयाँमा मञ्च तयार भएको छ । प्रवक्ता विश्वप्रकाश शर्माले संघीय संसदमा प्रतिनिधित्व गरेका सबै दलका प्रमुख नेतालाई महाधिवेशनमा सम्बोधन गर्न बोलाइएको बताए ।
ञप्रमुख विपक्षी दल नेकपा एमालेसँगै माओवादी केन्द्र, नेकपा९एकीकृत समाजवादी० पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अध्यक्षहरूलाई बोलाइएको छ र उहाँहरूले सम्बोधन गर्नुहुन्छझ, शर्माले भने ।
उनका अनुसार महाधिवेशनलाई सम्बोधन गर्न भारतदेखि त्यहाँको सत्तारुढ भारतीय जनता पार्टी , त्रिणमूल कांग्रेसको चार सदस्यीय प्रतिनिधिमण्डल हिजै काठमाडौं आइपुगेका छन् ।
देशभरिबाट चार हजार ५ सयको संख्यामा महाधिवेशन प्रतिनिधिहरू आइपुगेका छन् ।महाधिवेशनको खुला सत्र कम्तीमा दुई घण्टाको हुने भनिएको छ । यसपछि कांग्रेस बन्द सत्रमा जानेछ ।
बन्द सत्रमा महामन्त्रीद्वय पूर्णबहादुर खड्का र शशांक कोइरालाको सांगठनिक प्रतिवेदन, कोषाध्यक्ष सीतादेवी यादवको लेखा प्रतिवेदन, उपसभापति बिमलेन्द्र निधि नेतृत्वको नीति, अनुसन्धान, प्रशिक्षण प्रतिस्ठानको प्रगती प्रतिवेदनसँगै परिमार्जित पार्टी विधानसम्बन्धी प्रस्ताव पेस हुनेछ।

