कांग्रेस महाधिवेशनमा पेस गर्ने तीन प्रस्ताव पारित
नेपाली कांग्रेस केन्द्रीय समिति बैठकबाट आर्थिक, सांगठनिकसहित ३ प्रतिवेदन पारित भएका छन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकमा पेस भएको महामन्त्रीद्वय शशांक कोइराला, पूर्णबहादुर खड्काको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष सीतादेवी यादवको आर्थिक प्रतिवेदन पारित भएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उनका अनुसार उपसभापति नेतृत्वको नीति अनुसन्धान प्रतिष्ठानको प्रतिवेदन पनि बैठकबाट पारित भएको छ ।
बैठकमा शुक्रबारदेखि सुरु हुने पार्टीको महाधिवेशनको तयारीलगायत विषयमा छलफल भएको जानकारी प्रवक्ता शर्माले दिए । उनले केन्द्रिय कार्यसमितिबाट पारित सबै प्रतिवेदन पार्टीको १४ औँ महाधिवेशनको बन्दसत्रमा प्रस्तुत हुने बताए ।
प्रवक्ता शर्माले भोलि शुक्रबार महाधिवेशनको उद्घाटन दिउँसो १ बजे भृकुटीमण्डपमा हुने र यसलाई चुस्त र व्यवस्थितरुपमा सम्पन्न गर्नेगरी तयारी भएको जानकारी पनि दिए । महाधिवेशनमा भारतका राजनीतिक दलका प्रतिनिधि अतिथिका रुपमा सहभागी हुने निश्चित भएको उनले बताए । चौधौं महाधिवेशनअघि बिहीबार बसेको केन्द्रीय कार्यसमितिको अन्तिम बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंहसहित केहि नेताहरू सहभागी भएनन् । पौडेलसहितका नेता बैठकमा नआएपछि २ जना सहमहामन्त्री थप्ने प्रस्ताव तयार भएपनि बैठकमा पेश भएन।

