कांग्रेसको संस्थापनइतर समूह जुट्यो छलफलमा,शेखर र प्रकाशमानको अडान यथावत



काठमाडौँ।साझा उम्मेदवार छान्न नसकेर सकसमा रहेको नेपाली कांग्रेसको संस्थापन इतर समूहका नेताहरु फेरि छलफलमा जुटेका छन् ।

सभापतिको साझा उम्मेदवार तय गर्ने प्रयास स्वरुप सो समूहका नेताहरु गौशालाको अनुपम फुडल्याण्डमा भेला भएका छन् । मंगलबारका बैठकहरु बिना निष्कर्ष सकिएका थिए ।

पौडेल पक्षका केन्द्रीय सदस्य, जिल्ला सभापति, क्षेत्रीय सभापतिसहितले साझा उम्मेदवार तय गर्न दबाब दिएका छन् । तर इतर समूहबाट सभापतिको साझा उम्मेदवार तय हुने सम्भावना कमजोर हुँदै गएको छ ।

शशांक कोइराला र रामचन्द्र पौडेलले साझा उम्मेदवार तय हुने भए आफूहरु पछि हट्ने बताएका छन् । तर प्रकाशमान सिंह र शेखर कोइरालाले भने आफ्नो दाबी छोडेका छैनन् । उनीहरु दुवैले लामो तयारी गरेकाले पछि नहट्ने बताएका छन् ।

प्रकाशमानले आफू सधैँ त्याग गर्न तयार नरहेको बताएका छन् भने शेखरले शेरबहादुर देउवालाई टक्कर दिने क्षमता आफूसँग रहेको दाबी गरेका छन् ।

संस्थापन समूहबाट देउवा सभापतिको उम्मेदवार बन्ने निश्चित भए पनि अरु पदमा कुरा मिलेको छैन । कांग्रेसको महाधिवेशन शुक्रबारदेखि सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्