देउवा र पौडेल समूह उम्मेदवारी टुंग्याउन तीब्र कसरत गर्दै



काठमाडौं।नेपाली कांग्रेसको महाधिवेशन नजिकिँदै गर्दा उम्मेद्वारी छनोटका लागि पार्टी भित्र सकस छ। संस्थापन र संस्थापन इतर दुबै तर्फ एउटै पदका लागि धेरै जना आकांक्षी हुँदा उम्मद्वार चयन गर्नका लागि सकस परेको हो।

आज ९ बजे बुढानिलकण्ठमा पदाधिकारी बैठक छान्ने बैठक देउवा गुटको बैठक बस्दैछ।

त्यस्तै आजै ९ बजे अनुपम फूडल्यान्डमा पौडेल गुटको भेला छ। पौडेल गुटले सभापतिको साझा उम्मेद्वार तय गर्ने बताइएको छ।

इतरबाट सभापतिको उम्मेद्वार टुंगो लगाउने प्रक्रिया मंगलबार पनि बैठक बसे पनि असफल रहेको थियो। नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा भएको चार नेताको बैठकमा सहमति नभएको हो।

पार्टीका वरिष्ठ नेता पौडेलले बैठकपछि भनेका थिए, ‘सहमतिको निकै नजिक पुगेका छौँ। केही प्रक्रिया पूरा गरेर भोलि साँझसम्म निर्णय आउँछ। बुधवार साँझसम्म हामी निर्णय सार्वजनिक गर्छौ।’

यही मंसिर २४ गतेदेखि काठमाडौंमा कांग्रेसको १४ औं महाधिवेशन सुरू हुँदैछ। उद्घाटन भएको भोलिपल्ट उम्मेदवारहरूको मनोनयन दर्ताको तालिका छ। तीन दिनभित्र उम्मेदवार तय गरिसक्नुपर्ने दवावमा नेताहरू छन्।

अहिलेसम्मको अवस्था हेर्दा महाधिवेशनमा त्रिपक्षीय प्रतिस्पर्धा हुने देखिएको छ। सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट एक जना र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला सभापतिमा प्रतिस्पर्धा गर्ने तयारीमा छन्।

सिटौलाले आफू सभापतिमा उठ्ने र आफ्नो समूहबाट महामन्त्रीलगायत पदमा पनि उम्मेदवारी रहने बताइरहेका छन्। यो समूहबाट केन्द्रीय सदस्य प्रदीप पौडेल महामन्त्रीका उम्मेदवारका रूपमा प्रस्तुत भइरहेका छन्।

सबैभन्दा धेरै किचलो वरिष्ठ नेता पौडेल पक्षमा देखिएको छ। सभापतिका लागि पौडेलसहित शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला आकांक्षी छन्। सभापतिका लागि साझा उम्मेदवार छान्न तीन दिनदेखि पौडेल पक्ष बैठक गरिरहेको छ तर निचोडमा पुगेको छैन।

प्रतिक्रिया दिनुहोस्